सन् २००३ मा क्रिस्टियानो रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीमा डेब्यू गर्दा देशको फुटबल इतिहास ७५ वर्ष पुरानो थियो, तर उपलब्धिहीन। त्यसबेलासम्म पोर्चुगलले कुनै पनि प्रमुख अन्तर्राष्ट्रिय उपाधि जित्न सकेको थिएन, न त कुनै प्रतियोगिताको फाइनलमा पुगेको थियो। तथ्यांकले देखाउँछ, ७५ वर्षमा पोर्चुगलले फिफा विश्वकप र युरो कपमा मात्र ३–३ पटक छनोट भएको थियो। तर, रोनाल्डोको आगमनसँगै ‘रोनाल्डो युग’ शुरू भयो, र पोर्चुगलको फुटबलले इतिहास रचेको छ।
रोनाल्डोको नेतृत्वमा पोर्चुगलले २००३ यता चार प्रमुख प्रतियोगिताको फाइनल खेल्यो, जसमध्ये तीन उपाधि जित्यो: सन् २०१६ को युरो कप र सन् २०१९ र २०२५ को युईएफए नेसन्स लिग। युरो कपमा हरेक संस्करण (५ पटक) छनोट भएको पोर्चुगल अब २०२६ को विश्वकपमा छैटौँ पटक छनोट हुने दौडमा छ। यो कायापलटको मुख्य नायक ४० वर्षीय रोनाल्डो हुन्, जो अब सन् २०२६ को विश्वकप जितेर सन्यास लिने सपनामा छन्। यो उनको करियरको अन्तिम अवसर र बाँकी एकमात्र लक्ष्य हो।
सन् २००३ मा १७ वर्षको उमेरमा डेब्यू गरेका रोनाल्डोले २२१ खेलमा १३८ गोल गर्दै २३ वर्ष राष्ट्रिय टोलीमा बिताएका छन्। सन् २००४ मा युरो कप फाइनलमा ग्रीससँग हारे पनि सन् २०१६ मा उनले फ्रान्सलाई हराएर पहिलो उपाधि जिताए। त्यसपछि २०१९ मा नेदरल्यान्ड्स र २०२५ मा स्पेनलाई हराएर दुई नेसन्स लिग जिते। यी सफलताले पोर्चुगलको फुटबलको स्तर र आत्मविश्वास उकासिएको छ।
अब रोनाल्डोको नजर २०२६ को विश्वकपमा छ, जुन उनको अन्तिम प्रतियोगिता हुनेछ। हालको पोर्चुगल टोली सन् २०१६ वा २०१९ को भन्दा बलियो र युवा खेलाडीले भरिएको छ। २०२५ मा नेसन्स लिग जित्दा जर्मनी र स्पेनजस्ता टोलीलाई हराएर पोर्चुगलले विश्वकपको तयारी बलियो बनाएको छ। रोनाल्डोले मिडियासँग भने, “यो तेस्रो उपाधि हो, तर अन्तिम होइन। हाम्रो लक्ष्य विश्वकप हो। हामी एकताबद्ध भएर त्यहाँ पुग्नेछौँ।”
रोनाल्डोको सपना पूरा गर्न अब युवा टोलीको काँधमा जिम्मेवारी छ। ४० वर्षमा पनि उनले १५० गोलको आँकडा नजिक छन्। यदि २०२६ मा विश्वकप जिते, रोनाल्डोले विश्व च्याम्पियन बनेर सन्यास लिनेछन्; नभए उनको यो सपना अधुरो रहनेछ। पोर्चुगलको ‘गोल्डेन जेनेरेसन’ र रोनाल्डोको अनुभवले यो सम्भव छ कि छैन, त्यो समयले बताउनेछ।
रोनाल्डोको तथ्यांक: