माघ ३, काठमाडौँ । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी सङ्घ (नेवि सङ्घ) को आयोजनामा माघ ७ गतेदेखि दक्षिण एसियाली विश्वविद्यालय ‘टी–२० जय नेपाल कप’ क्रिकेट प्रतियोगिता हुने भएको छ ।त्रिभुव विश्वविद्यालयको क्रिकेट मैदानमा हुने उक्त खेलमा ८ वटा विश्वविद्यालयले सहभागिता जनाउने भएका छन् ।
नेपालका चार, भारतको तीन र बङ्गलादेशको एक गरी आठ वटा विश्वविद्यालयको सहभागिता रहने बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक गणेश थापाले जानकारी दिनुभयो ।
नेविसंघले ९ दिनसम्म चल्ने टि–२० क्रिकेट प्रतियोगिताले खेलकुदको भावना जगाउनेमात्रै नभएर जलवायु परिवर्तनको महत्त्वपूर्ण मुद्दालाई प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरेको छ ।
प्रतियोगिताको पुरस्कार राशी ३० लाख रुपैयाँ रहेको नेविसंघले जनाएको छ ।
विजयी टोलीलाई संसारको सर्वोच्च शिखर सगरमाथाको सुन्दर दृश्य अवलोकन गर्ने अवसरका लागि प्रसिद्ध एभरेस्ट भ्यू होटलको विशेष भ्रमणको अवसर प्रदान गरिने पनि बताइएको छ ।
नेपालबाट काठमाडौं विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, भारतबाट दिल्ली विश्वविद्यालय, लखनऊ विश्वविद्यालय, बाबासाहेब भीमराव, बिहार विश्वविद्यालय र बङ्गलादेशबाट ढाका विश्वविद्यालयले प्रतियोगितामा सहभागी हुँदैछन् ।
खेलकुदलाई शक्तिशाली माध्यमको रूपमा प्रयोग गर्दै युवाहरूलाई वातावरणका दूत बन्न प्रेरित गर्ने र जलवायु संकट समाधानमा योगदान पुर्याउने प्रतियोगिताको उद्देश्य रहेको छ । प्रतियोगिताका ब्रान्ड एम्बासडरको रूपमा निमा रिन्जी शेर्पा रहेका छन् । उनी संसारका सबै ८ हजार मिटरभन्दा माथिका १४ वटा हिमाल चढ्ने सबैभन्दा कान्छो व्यक्ति हुन् ।