मंसिर २४, काठमाण्डौं । नेपाल र चीनले गत मंसिर १९ गते बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) परियोजनाको ‘फ्रेमवर्क’मा हस्ताक्षर गरेका विषयमा अमेरिकाले तत्कालै टिप्पणी नगर्ने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणका क्रममा नेपाली र चिनियाँ अधिकारीबीच बेल्ट एन्ड रोड सहकार्यको ‘फ्रेमवर्क’मा हस्ताक्षर भएपछि अमेरिकाको यस्तो प्रतिक्रिया आएको हो ।
नेपाल भ्रमणमा रहेका दक्षिण तथा मध्य एसियाली मामिलाका लागि अमेरिकाका सहायक विदेश मन्त्री डोनाल्ड लुले सोमबार काठमाडौंमा पत्रकारमाझ नेपाल र चीनबीच हस्ताक्षरित बीआरआई फ्रेमवर्क सम्झौतासम्बन्धी दस्तावेज जारी गरेकोबारे टिप्पणी गर्ने कुरामा आफूहरूले केही समय कुर्ने बताए । दुई दिने भ्रमण सकेर अमेरिका फिर्ता हुनुअघि लुले पत्रकारसँग भने, ‘हामी दुई देशबीच भएको हस्ताक्षरको दस्तावेज सार्वजनिक हुन्जेललाई प्रतिक्षा गर्छौँ ।’
नेपाल र चीनले प्रधानमन्त्री ओली उत्तरी छिमेकीको भ्रमणमा रहेका बेला बीआरआई अन्तर्गतको सहयोग कार्यान्वयनका लागि फ्रेमवर्कमा हस्ताक्षर गरेका थिए । नेपाल र चीन सरकारबीच बेइजिङमा आयोजित एक विशेष समारोहमा सम्झौतालाई औपचारिक रूप दिएपछि प्रधानमन्त्री ओलीको भ्रमणले अमेरिका सहित विश्वशक्ति राष्ट्रको पनि ध्यान तानेको थियो ।