काठमाडौँ, मङ्सिर ९ गते ।मङ्सिर १४ देखि संयुक्त अरब इमिरेट्स (युएई) मा सुरु हुने एसिसी यु–१९ एसिया कप क्रिकेटका लागि हेमन्त धामीको कप्तानीमा नेपाली राष्ट्रिय टोली घोषणा भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार धामीको कप्तानीमा १५ सदस्यीय टिम घोषणा गरेको हो । टोलीको उपकप्तानमा अर्जुन कुमाल रहनुभएको छ ।
आकाश त्रिपाठी, उत्तम रङ्गु थापा मगर, मयन यादव, नरेन साउद, युनिसविक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विक, विपिन महतो, अप्राजित पौडेल, अभिषेक तिवारी र रन्जित कुमार रहेका छन् ।
क्यानले पूर्वराष्ट्रिय खेलाडी शक्ति गौचनलाई टोलीको प्रमुख प्रशिक्षक र धीरेन्द्र चन्दलाई सहायक प्रशिक्षकको जिम्मेवारी यसअघिनै दिएको छ ।
यू-१९ एसिया कप मंसिर १४ देखि युएईमा सुरू हुँदैछ। एसिया कपमा नेपालले समूह ‘बी’ मा अफगानिस्तान, बंगलादेश र श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ। नेपालले आफ्नो पहिलो खेल मंसिर १४ मा श्रीलंकासँग खेल्ने कार्यक्रम छ। एसिया कपको समूह ‘ए’ मा भारत, पाकिस्तान, युएई र जापान छन्।
एसिया कपमा नेपालले दोस्रो खेल मंसिर १६ मा बंगलादेशसँग र तेस्रो खेल मंसिर १८ मा अफगानिस्तानसँग खेल्नेछ। समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। सेमिफाइनल खेल मंसिर २१ र फाइनल २३ गते हुनेछ।