बाढीपहिरो डुबानमा परी निधन भएकाको परिवारलाई एक लाखका दरले राहत दिने

1.5k Shares

असोज १६, काठमाण्डौं । मधेस प्रदेश सरकारले यही असोज ११ र १२ गतेकोे बाढीपहिरो तथा डुबानमा परी निधन भएकाको परिवारलाई जनही रु एक लाखका दरले राहत दिने भएको छ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले उक्त राहत दिनेबारे आज घोषणा गरेका हुन् ।

मुख्यमन्त्री सिंहले बाढीपहिरो तथा डुबानबाट प्रभावित प्रदेशवासीलाई राहत उपलब्ध गराउन एकद्वार प्रणाली अवलम्बन गर्न प्रदेशका आठवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन् । उनले वर्खा तथा बाढीबाट प्रभावित बस्तीमा राहत तथा पुनःस्थापना कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन स्थानीय तहलाई आग्रह गरेका छन् ।

मुख्यमन्त्री सिंहले विपद्का बेला मधेस प्रदेशमा खोज, उद्धार एवं तत्काल राहत कार्यको व्यवस्थापनमा सक्रिय स्थानीय तह, सुरक्षा अधिकारी, सुरक्षाकर्मीलगायतलाई धन्यवाद समेत दिए ।

बाढीका कारण कृषि, सिँचाइ, भौतिक पूर्वाधारलगायत क्षेत्रमा भएका क्षतिका विषयमा विवरण सङ्कलन भइरहेको जानकारी दिँदै मुख्यमन्त्री सिंहले त्यसअनुरूप राहत तथा पुनःस्थापना कार्यमा सहजीकरण गर्न प्रदेशका मन्त्रालय तथा मातहतका निकायलाई निर्देशन दिएका छन् ।

सम्बन्धित समाचार