सुजेन्द्रप्रसाद भेट्रान चेसको उपाधि भगवतीप्रसाद शर्मालाई

1.4k Shares

काठमाडौं । क्यान्डिडेट मास्टर (सीएम) भगवतीप्रसाद शर्माले बिहीबार काठमाडौंमा सम्पन्न प्रदेशस्तरीय सुजेन्द्रप्रसाद श्रेष्ठ स्मृति भेट्रान र्‍यापिड चेस प्रतियोगिताको उपाधि जितेका छन् । 

नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल चेस संघको आयोजनामा सम्पन्न सुजेन्द्रप्रसाद श्रेष्ठ भेट्रान चेस प्रतियोगितामा शर्माले अपराजित ५.५ अंकसहित जित निकालेका हुन् । 

५० वर्षमाथिको उक्त प्रतियोगितामा २८ जनाले सहभागिता जनाएको बागमती अखिल नेपाल चेस संघका अध्यक्ष श्रीकृष्ण श्रेष्ठले जानकारी दिए । 

प्रतियोगितामा पवन खड्का, दामोदर गैंजु, गणेशमान दुवाल र पुरुषोत्तम दुवाल समान ४.५ अंक जोड्दै शीर्ष पाँचमा रहे। समान अंक भएपनि टाइब्रेकरको आधारमा पवन दोस्रो, दामोदर तेस्रो, गणेशमान चौथो र पुरुषोत्तम पाँचौमा रहे। विजेताले १० हजार, दोस्रोले ५ हजार, तेस्रोले २ हजार ५ सय र चौथो हुनेले १ हजार २ सय ५० रुपिया, ट्रफी तथा प्रमाणपत्र प्राप्त गरे। पाँचौँदेखि दशौंसम्मलाई जनही १ हजारका दरले दिइएको थियो । 

नेकपा माओवादी निकट अखिल नेपाल चेस संघले पूर्वखेलाडी सुजेन्द्रप्रसाद श्रेष्ठको स्मृतिमा भेट्रान खेलाडीका लागि प्रतियोगिता आयोजना गरेको हो। नेपाल बुद्धिचाल महासंघमा उपाध्यक्षसमेत भएका श्रेष्ठको २०७९ साल चैत २४ गते क्यान्सरका कारण मृत्यु भएको थियो । राष्ट्रिय बुद्धिचाल प्रतियोगिता २०६५ मा तेस्रो भएका उनी एफएम (फिडे मास्टर) पनि भएका थिए।

सम्बन्धित समाचार