सर्लाही जिल्ला कारागार सञ्चालनमा आएको सवा महिना मै कैदीबन्दीको संख्या एक सय ३१ पुगेको छ ।एक सय ६० पुरुष र ५० महिला गरी दुई सय १० जना कैदीबन्दीको क्षमता भएको सर्लाही कारागार माघ ६ गते उद्धघाटन भएको थियो । कारागार सञ्चालनमा आएको सवा महिना मै सिन्धुली,गौर र वीरगन्ज कारागारबाट पटक पटक गरी एक सय ३१ जना कैदीबन्दीलाई स्थानान्तरण गरी सर्लाही ल्याइएको कारागार कार्यालय मलंगवाका निमित्त जेलर मनोजकुमार मिश्रले जानकारी दिए ।
उनका अनुसार सिन्धुली कारागारबाट मात्रै ३७ जना पुरुष र ७ जना महिला गरी ४४ जना, वीरगन्ज कारागारबाट १५ जना पुरुष र चार जना महिला गरी १९ र गौर कारागार रौतहटबाट ३० जना साथै यस अघि ३६ जना कैदीबन्दीलाई स्थानान्तरण गरेर ल्याइएको छ भने जिल्ला कारागार सर्लाहीमा महिलामा आश्रीत दुई जना बालबालिका समेत गरी एक सय ३१ जना कैदीबन्दी पुगेका छन् । अहिलेसम्म स्थानान्तरण गरेर ल्याइएका मध्ये अधिकांश सर्लाही जिल्ला अदालतबाट मुद्दा चलेका र यहीं स्थायी बसोवास रहेका कैदीबन्दी रहेका कारागार स्रोतले जनाएको छ । जिल्लामा कारागार नहुँदा विभिन्न जिल्लाका कारागारमा पठाइएका कैदीबन्दीलाई प्रक्रिया पूरा गरी जिल्लाकै कारागारमा ल्याउने क्रम जारी रहेको निमित्त जेलर मिश्रले बताए । जिल्लाकै कारागारमा राख्दा आफन्तलाई भेट्न सहज हुने र प्रहरीलाई पनि बाहिरी जिल्लाका कारागारहरुसम्म ओसारपसारको सास्ती साथै सुरक्षा चुनौती पनि कम हुने जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपेन्द्र पञ्जियार थारुले बताए ।
उनका अनुसार कारागार कार्यालय मलंगवाको सुरक्षार्थ अहिले प्रहरी नायब निरीक्षक (सइ) को नेतृत्वमा २५ जना नेपाल प्रहरी परिचालन गरिएको छ । १० जना कर्मचारीको दरबन्दी रहेको कारागार कार्यालयमा अहिले आठ जना कर्मचारी मात्रै कार्यरत रहेका छन् भने कार्यालयमा एक जना शाखा अधिकृत र एक जना सहायक कम्प्युटर अपरेटर पद रिक्त रहेको कारागार स्रोतले जनाएको छ ।