दुर्घटनामा ज्यान गुमाएका घिमिरे परिवारलाई आर्थिक सहयोग हस्तान्तरण

2.2k Shares

सर्लाहीको मलंगवा नगरपालिका ११ स्थित नवलपुर मलंगवा सडक खण्डको गम्हरियामा भएको सवारी दुर्घटनामा मृत्यु भएका नापी कार्यालय मलंगवाका कार्यालय सहयोगी विनोद प्रसाद घिमिरेको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।माघ २२ गते साँझ नापी कार्यालयका कर्मचारी सवार बीआर ०६ पिडी ९६४८ नम्वरको सफारी गाडी उखु बोकेको ट्याक्टरसँग पछाडिबाट ठोक्किंदा बागमती नगरपालिका ११ का घिमिरेको मृत्यु भएको थियो।पतन्जली योग समिति मलंगको सदस्य समेत रहेका घिमिरेको शनिबार १३ औं दिनको पुण्य तिथीमा पतन्जली योग समिति मलंगवाका अध्यक्ष एवम जिल्ला समन्वय समिति सर्लाहीका सभापति कौशलकिशोर सिंहको नेतृत्वको टोलीले  घिमिरे परिवारलाई रु ४३ हजार आठ सय आर्थिक सहयोग गरेको सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरेले जानकारी दिए ।
उनका अनुसार आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलालगायतले घरमै पुगेर घिमिरेको परिवारलाई रु ४३ हजार आठ सय आर्थिक सहयोग प्रदान गरेका हुन् ।आपसमा आर्थिक संकलन गरेर थोरै भएपनि सहयोग प्रदान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए।जिल्ला समन्वय समिति सर्लाहीका सभापति सिंह,प्रमुख जिल्ला अधिकारी धमलालगायतले स्वर्गिय घिमिरेको तस्बिरमा माल्यापण गर्दै श्रद्धान्जली समेत व्यक्त गरेका छन् ।
पीडित परिवारका एक सदस्यलाई नापी कार्यालयमै रोजगारी दिलाउन पहल भइरहेको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।मृतक घिमिरेका दुई छोरी र एक छोरा रहेका छन् ।उक्त दुर्घटनाका घाइते १० जनामध्ये केही उपचारपछि घरफर्कि सकेका छन् भने नापी कार्यालय मलंगवाका प्रमुख सञ्जय मानन्धर र अमिन बैजु यादवलाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।

सम्बन्धित समाचार