सर्लाहीको उत्तरी क्षेत्रमा निर्माणाधीन अवस्थामा रहेको हाइटेसन लाईनको तार विस्तारको विषयलाई लिएर सर्लाहीका प्रमुख जिल्ला अधिकारी सहित जिल्लाका सुरक्षा निकायका प्रमुखहरु र स्थानीय जनप्रतिनिधिहरुले स्थानीयबासीसंग छलफल गरेका छन् ।हाईटेसन लाईनको तार विस्तारको विषयलाई लिएर जिल्लाका सुरक्षा प्रमुखहरुका साथै नगर प्रमुख,उप प्रमुख लगायत स्थानीय विच पटक पटक छलफल भएको भए पनि कुनै निष्कर्ष निस्कन सकिरहेको छैन् ।
२०४२÷४३ सालमा सर्वे भई सोही अनुसार हाईटेसनको तार विस्तारको काम सुरु भएको भए पनि स्थानीयले उचित मुआब्जा नपाउँदासम्म तार विस्तार गर्न नदिने अडान लिई रहेका कारण सो क्षेत्रमा काम प्रभावित हुँदै आएको छ । विद्यमान कानुनमा मुआब्जा सम्बन्धी अन्य कुनै व्यावस्था नभएकोले एक आपसमा बसेर छलफल गरि समस्या समाधान गरेर जानू पर्ने भएकोले स्थानीयसंग छलफल गरेको र राज्यको नियमानुसार मुआब्जा उपलब्ध गराउने सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले बताए ।उनले राज्यको नियमानुसार मुआब्जा उपलब्ध गराउने र अहिलेलाई काममा कुनै अवरोध नगर्न सो क्षेत्रका स्थानीयसंग आग्रह गरेका छन् ।
आफुहरुले पटक पटक मुआब्जाको व्यावस्थापन गरि काम गर्न र मुआब्जा नपाउँदा सम्म काम गर्न नदिने भन्दै विभिन्न निकायमा निवेदन दिएको संघर्ष समितिका संयोजक गोविन्द महतले बताए ।उनले लालबन्दी नगरपालिका,विद्युत प्राधिकरण,जिल्ला प्रशासन कार्यालय सर्लाहीका साथै उर्जा,जलस्रोत तथा सिचाई मन्त्रालयमा समेत मुआब्जाको व्यावस्था गरिदिन र सो व्यावस्था नहुँदा सम्म काम गर्न नदिने भन्दै निवेदन दिएको बताए ।
यता,आयोजनाले ९/९ मिटर आफ्नो मार्गाधिकार क्षेत्र भन्दै सुचना जारी गरेपछि स्थानीयमा झन त्रास बढेको छ तर त्यसलाई घर टहरा हटाउने भन्ने नबुझ्न आयोजनाका राजेन्द्र कोईरालाले स्थानीयसंग आग्रह गरे ।लालबन्दी नगर प्रमुख वासुदेव अधिकारी, प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमला, जिल्ला प्रहरी प्रमुख प्रविण धिताल,सर्लाहीका प्रमुख सेनानी र हाईटेसनबाट पीडित लालबन्दी तथा हरिवनका स्थानीय बिच सोमवार साँझ लालबन्दी नगरपालिका ६ स्थित रहेको लालबन्दी नगरपालिकाको पुरानो सभाहलमा छलफल भएको हो ।