सर्लाहीमा पछिल्लो समय महिला स्वरोजगारमुलक साना उद्योगहरुको संख्या बढेको छ ।घरेलु तथा साना उद्योग कार्यालय सर्लाहीमा चालु आर्थिक वर्षको पहिलो छ महिनामा तीन सय ८९ वटा साना उद्योगहरु दर्ता भएकामा दुई सय ४० जना महिला उद्यमीहरु रहेका घरेलु तथा साना उद्योग कार्यालय सर्लाहीका प्रमुख संजिप कुमार दुवेले जानकारी दिए ।उनका अनुसार उत्पादकमुलक उद्योगहरुमा महिलाहरुको सहभागीता तथा चासो बढेको हो ।
कुल तीन सय ८९ वटा साना उद्योगहरुमा दुई सय ४० जना महिला उद्यमीहरु हुँदा एक सय ४९ जना पुरुष उद्यमीहरु जोडिनु भएको कार्यालयका सूचना अधिकारी सरोज सिंहले जानकारी दिए । उनका अनुसार चालु आर्थिक वर्ष २०८०/०८१ को साउनदेखि पुस मसान्त सम्मको छ महिनाको अवधिमा कुल तीन सय ८९ वटा साना उद्योगहरु दर्ता भएकामा कृषि तथा वनजन्य उद्योग तर्फ दुई सय सात वटा उद्योगहरु दर्ता भएका र त्यसमा एक सय २० जना महिला उद्यमीहरु रहनु भएको छ ।
तीन सय ८९ साना उद्योगहरु मध्य नौ वटा उद्योगको नामसारी,आठ वटा उद्योगको ठाउँसारी,दुई सय ५१ वटा उद्योगको नविकरण,१५ वटा उद्योगको पुँजिवृद्धि,चार वटा उद्योगको करोवार थप/कट्ट,३८ वटा उद्योगको लगत कट्टा,१७ वटा उद्योगको प्रतिलिपि,दुई वटा प्रारम्भिक वातावरणिय प्रभाव मुल्यांकन,दुई वटा उद्योगको साझेदारी थप,चार वटा उद्योगको नाम परिवर्तन,एउटा उद्योगको शाखा थप र २२ वटा अन्य संसोधन गरी सात सय ४० वटा उद्योगहरु माथि काम भएको घरेलु तथा साना उद्योग कार्यालय सर्लाहीका सूचना अधिकारी सरोज सिंहले जानकारी दिए ।
उनका अनुसार सबै भन्दा धेरै कृषि तथा वनजन्य उद्योग दुई सय सात वटा,सेवा मुलक एक सय आठ वटा,उत्पादनमुलक ७१ वटा र निर्माण तर्फ तीन वटा गरी तीन सय ८९ वटा साना उद्योगहरु दर्ता भएका हुन ।कार्यालयमा दर्ता हुन आउने उद्योगहरू अधिकांश महिलाका नाममा दर्ता हुने गरेका छन् । राजस्वमा ५० प्रतिशत छुट हुने भएकाले महिलाका नाममा दर्ता गर्नेहरूको संख््या बढेको कार्यालयले जनाएको छ ।