सर्लाही जिल्लामा दर्ता भएका ९१ वटा निजी वन व्यवस्थापनमा रहेका छन् ।विसं २०४५ पुस ११ गतेदेखि हालसम्म दर्ता भएका ९१ वटा निजी वन व्यवस्थापनमा रहेका डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख एवम डिभिजन वन अधिकृत मन्जुर अहमद्ले जानकारी दिए ।
उनका अनुसार कुनै व्यक्ति वा संस्थाले आफ्नो निजी जग्गामा संरक्षण गरी वा नयाँ वृक्षारोपण गरी हुर्काएका बिरुवालाई निजी वन भन्ने गरिन्छ।“यस्ता वनमा निजी वन धनीले आफ्नो इच्छा अनुसार वनको विकास,संरक्षण,व्यवस्थापन गर्न तथा वन पैदावारको उपयोग गर्न मूल्य निर्धारण गरी बिक्री वितरण गर्न सक्ने प्रवधान रहेको छ।”डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख एवम डिभिजन वन अधिकृत अहमद्ले बताए ।
जिल्लामा दर्ता भएका निजी वनको अनुगमनका क्रममा वन दर्ता गरी बिरुवा रोपणपछि वन व्यवस्थापनको क्रियाकलाप नभएको पाइएको डिभिजन वन कार्यालय सर्लाहीका सूचना अधिकारी एवम सहायक वन अधिकृत राकेश रन्जन दासले जानकारी दिए । उनका अनुसार ती वनमा अनुगमन,निरीक्षण र विस्तृत नाप जाँचपछि बोटबिरुवाको लगत कायम गरी अद्यावधिक गर्नुपर्ने प्रावधान रहेको छ ।निजी वनको सम्भाव्यता बढी देखिएको बताउँदै डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख अहमद्ले नीजि वन प्रवद्र्धनका लागि वन धनीलाई स्थान सुहाउँदो बोटबिरुवा वितरण गरी व्यवसायिक रुपमा विस्तार गर्न सकिने बताए ।
निजी वन व्यवथापनमा देखिएका चुनौतिहरु समाधान गर्दै अघि बढ्न सके प्रभावकारी व्यवस्थापन हुने उनको भनाई छ । बाँस,सिसौ,मसला,खयर,टिक,सिमल,कटहर,कपोक,डालेघाँस,आँप,तिल्क,सिरिष,टिकुल,जामुन,पिठारी,बकाइनो,सतिसाल,असना,कर्मा,पौलोनियाँ,कपुर,खमारी,अर्जुना लगायतका प्रजातिका बोटबिरुवाहरु जिल्लाका निजी वनहरुमा लगाइएको डिभिजन वन कार्यालय सर्लाहीले जनाएको छ ।