सर्लाहीको ईश्वरपुर नगरपालिकाले २०७४ सालभन्दा अघि निर्माण भएका सबै प्रकारका पक्की घर तथा भौतिक संरचनाहरुको अभिलेखीकरण गर्ने भएको छ ।२०७४ अघि नक्सापास नभई निर्माण गरिएका पक्की घर तथा भौतिक संरचनाहरुको अभिलेखीकरण गर्ने तयारी गरिएको इश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार आचार्यले जानकारी दिए ।उनका अनुसार नगरपालिकाले एक सुचना जारी गर्दै आगामी चैत मसान्तभित्र नाप नक्सा तयार पारी नगरपालिकामा अभिलेखीकरण गर्न आग्रह गरिएको हो ।
अभिलेखीकरणका लागि घर तथा भौतिर संरचना अनुसारको सक्कलै नक्सा दुई प्रति,घर तथा भौतिक संरचना भएको जग्गाको सक्कलै कित्ताकाट नक्सा एक प्रति,चालू आर्थिक वर्षको तिरो तिरेको रसिदको प्रतिलिपी एक प्रति,घर तथा भौतिक संरचना भएको जग्गाको लालपूर्जाको प्रतिलिपी एक प्रति,घरधनीको पासपोर्ट साइजको फोटो दुई प्रति र निवेदन आवश्यक पर्ने इश्वरपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिराकाजी श्रेष्ठले जानकारी दिए ।
इश्वरपुर नगरपालिका ६ स्थित बयलवास बजार क्षेत्र बाहेक नगरभित्रका प्राय घर तथा भौतिक संरचनाहरु नक्सापास बिनै निर्माण गर्ने चलन रहेको छ ।नगरपालिकाले नक्सापास बिना घर तथा अन्य भौतिक संरचना निर्माण नगर्न सूचनामार्फत अनुरोध समेत गरेको छ ।