जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर,सर्लाहीले पुसमा रु १९ लाख भन्दा बढी राजश्व संकलन गरेको छ।जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर,सर्लाहीले पुसमा रु १९ लाख ३७ हजार पाँच सय राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर,सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी निरिक्षक मदन थापाले जानकारी दिए । उनका अनुसार एक हजार नौ सय सात वटा सवारी साधनहरुलाई कार्बाही गर्दा सो राजश्व संकलन भएको हो ।पुस महिनामा बस २८ वटा,ट्रक चार सय १७ वटा,मोटरसाईकल नौ सय ९६ वटा र अन्य सवारी साधनहरु चार सय ६६ वटा सवारी साधनहरु कार्बाहीमा परेका ट्राफिक प्रहरीले जनाएको छ ।
\त्यसैगरी पुस महिनामा २६ वटा दुर्घटना हुँदा पाँचजना पुरुषको ज्यान गएको छ ।जिल्ला प्रहरी कार्यालय सर्लाहीसँग समन्वय गरी ट्राफिक नियम विपरीत सञ्चालित सवारी साधनहरुलाई कारवाहीको दायरामा ल्याइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी निरिक्षक थापाले जानकारी दिए ।जिल्लामा अत्यधिक मात्रामा हेल्मेट नलगाई मोटरसाइकल चलाउने गरेको समस्या देखिएको साथै बिना हेल्मेट चलाइएका मोटरसाइकल दुर्घटना हुँदा चालक गम्भीर घाईते हुने तथा मृत्यु समेत भएको घटना अत्यधिक रहेको ट्राफिक प्रहरीले जनाएको छ ।
हेल्मेट नलगाइ चलाइने मोटरसाइकल चालकलाई पहिलो पटक सम्झाउन र पुनःट्राफिक नियमको उल्लंघन गरेको पाइएमा कारवाही गर्न फिल्डमा खटिने ट्राफिक प्रहरी कर्माचारीहरुलाई निर्देशन दिएको उनले बताए ।जिल्लामा पूर्व–पश्चिम लोकमार्गमा ट्राफिक नियमको पालना हुने गरेको भएपनि भित्री सडकहरुमा ट्राफिक प्रहरी नरहने भएकाले अधिकांशले ट्राफिक नियमको उल्लंघन गर्ने गरेका पाइएको छ।ट्राफिक नियमको अत्यधिक उल्लंघन हुने भित्री सडकमै मोटरसाइकलहरु गम्भिर किसिमका दुर्घटना हुँदा जनधनको धेरै क्षति हुने गरेको ट्राफिक प्रहरीले जनाएको छ ।