सर्लाहीको बरहथवामा भएको घटनाका पीडित पक्षलाई सर्लाहीका प्रमुख जिल्ला अधिकारीहरु सहित जिल्लाका सुरक्षा अधिकारीहरुले भेट गरेका छन् ।सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमला,सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरे सहित जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक प्रवीण धितालले बरहथवाका आन्दोलनरत पक्ष र पीडित पक्षसंग भेट गरेका छन् ।
बरहथवा नगरपालिका ६ स्थित रहेको १५ शैयाको प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शैयामा स्तरोउन्नती गरी प्रादेशिक अस्पताल बनाउने वा नबनाउने भन्ने विषयमा विवाद भएपछि प्रदर्शन चर्किदा बरहथवा नगरपालिका ६ का अन्दाजी वर्ष ३० का जय शंकर प्रसाद साहको प्रहरीले चलाएको गोली लागेर घटनास्थल मै ज्यान गएको थियो ।
त्यसपछि जिल्लाका सुरक्षा अधिकारीहरुले आन्दोलनरत पक्ष र पीडित पक्षसंग भेट गरेका हुन ।पीडितलाई भेट्न पुगेका प्रमुख जिल्ला अधिकारी धमला सहित सुरक्षाअधिकारीहरु समक्ष पीडित परिवारले आफ्ना १० बुँदे माग राखेका छन् । नगर प्रमुख कल्पना कुमारी कटुवालको राजिनामा सहित कार्बाही गर्नुपर्ने,इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी प्रमुख एवम प्रहरी नायव उपरिक्षक गांगा बहादुर थापालाई निलम्वन गर्नुपर्ने,गोली चलाउने र आदेश दिनेलाई निलम्बन गर्नुपर्ने,मृतकलाई शहिद घोषणा गर्नु पर्ने,५० शैयाको प्रादेशिक अस्पताल कायम गर्नु पर्ने,अस्पतालको नामाकरण मृतकको नाममा हुनु पर्ने,मृतकको शालिकलाई नेपाल बैँक चोकमा र अस्पतालमा राख्नु पर्ने,मृतकको परिवारका १ जनालाई सरकारी जागिरको व्यावस्था गर्नुपर्ने र उच्च स्तरिय न्यायिम समिति गठन गरि सत्य तथ्य छानविन गरी दोषीलाई कार्वाही गर्नु पर्ने पीडित पक्षले प्रमुख जिल्ला अधिकारी धमला समक्ष माग राखेका छन् ।पीडित पक्षको मागलाई प्रमुख जिल्ला अधिकारीको हैसियतले सम्भावना भए सम्म र सकेसम्म सम्बोधन गर्ने प्रमुख जिल्ला अधिकारी धमलाले प्रतिवद्धता जनाएका छन् । उनले आफुले गोली चलाउन आदेश नदिएको र दोषी देखिएको खण्डमा आफुपनि सजायको भागेदार बन्न तयार रहेको बताए ।
प्रमुख जिल्ला अधिकारी धमलाले पीडित र आन्दोलनरत पक्षसंग भेट्दै छानविन गरी घटनामा दोषी देखिएका कसैलाई पनि उन्मुक्ती नदिने प्रतिवद्धता जनाएका छन्।उनले आन्दोलनरत पक्ष र पीडित पक्षसंग संयमितता अपनाउन आग्रह गरे ।जिल्लाका सुरक्षा अधिकारीहरु सहित आन्दोलनरत पक्ष र पीडित पक्षविच ईलाका प्रहरी कार्यालय बरहथवामा भएको सर्वदलिय छलफलमा पनि आन्दोलनरत पक्ष र पीडित पक्षले यीनै १० बुँदे माग राखेका छन् ।