श्रमिक आबद्धता सम्बन्धी बलरा नगरपालिका र सामाजिक सुरक्षा कोषबिच सम्झौता

2.2k Shares

सर्लाहीको बलरा नगरपालिका र सामाजिक सुरक्षा कोषबीच श्रमिक आबद्धता सम्बन्धी सम्झौता भएको छ ।सामाजिक सुरक्षा कोषको कार्यालयमा कोषका तर्फबाट कार्यकारी निर्देशक कविराज अधिकारी र बलरा नगरपालिकाका नगर प्रमुख रामाशंकर कुशवाहले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।
बलरा नगरपालिकामा रहेका अनौपचारिक क्षेत्रका श्रमिकहरुसँगै स्वरोजगार व्यक्तिहरुलाई सामाजिक सुरक्षा योजनाभित्र समेट्नका लागि सम्झौता गरिएको बलरा नगरपालिकाका नगर प्रमुख कुशवाहले जानकारी दिए । उनका अनुसार सम्झौतासँगै बलरा नगरपालिका भित्रका अनौपचारिक क्षेत्र तथा स्वरोजगारका श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रक्रिया सुरु भएको छ ।जनताको जीवनयापनमा आइपर्ने सामाजिक सुरक्षाका विभिन्न समस्याहरुको समुचित सम्बोधन गर्न सामाजिक सुरक्षा अपरिहार्य भएकाले सम्झौता गरी काम सुरु गरिएको नगर प्रमुख कुशवाहले बताए ।
उनले जनतासामु गरेका प्रतिबद्धतालाई साकार गर्न नगर क्षेत्र भित्रका अनौपचारिक तथा स्वरोजगारका श्रमिकलाई बढीभन्दा बढी कोषमा आबद्ध गर्ने विषयमा प्रतिबद्धता जाहेर गरे । कोषमा आबद्ध गराउने बलरा नगरपालिकाको निर्णयले नगरक्षेत्रको मात्र नभई कोषमा आबद्ध हुन चाहने अन्य स्थानीय तहहरुलाई समेत प्रेरित गरेको कोषका कार्यकारी निर्देशक अधिकारीले बताए ।

सम्बन्धित समाचार