पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सर्लाहीको हरिवन नगरपालिका ११ स्थित हरिवन बजारमा उखु उत्पादक किसानहरुले सडकमा सुतेर तथा आमरण हन्सन बसेर विरोध प्रदर्शन गरेका छन् । चालु सिजनका लागि उखुको मूल्य तत्काल तोक्नुपर्ने र गत वर्षको अनुदान वापतको बाँकी बक्यौता भुक्तानी गर्नुपर्ने लगायतका माग राख्दै सोमबार राजमार्ग मै सुतेर तथा इन्दु शंकर चिनी उद्योग हरिवनको गेटमा आमरण अन्सन बसेर उखु उत्पादक किसानहरूले विरोध प्रदर्शन गरेका मिलगेट उखु उत्पादक समिति सर्लाहीका अध्यक्ष राजकुमार उप्रेती जानकारी दिए ।
उनका अनुसार उखु उत्पादक किसानहरुले गतवर्ष चिनी उद्योगलाई बिक्रि गरेको उखुको राज्यले दिनुपर्ने अनुदान वापतको प्रति क्विन्टल रु ७० मध्य हाल सम्म जम्मा प्रति क्विन्टल रु २१ मात्रै भुक्तानी भएको र बाँकी अनुदान वापतको प्रति क्विन्टल रु ४९ का दरले रु ५२ करोड रकम अथासिघ्र भुक्तानी गर्नु पर्ने र चालु सिजनको लागि उखुको मुल्य रु सात सय ५० हुनु पर्ने माग गर्दै आन्दोलन सुरु गरेका हुन ।
चालु सिजनको उखुको प्रति क्विन्टल मूल्य निर्धारण नभएको र अनुदान वापतको राज्यले दिनुपर्ने बाँकी रकम भुक्तानी नभएको अवस्थामा जिल्लाका उखु उत्पादक किसानहरूले चिनी उद्योग सञ्चालन नगर्न समेत आग्रह गरेका नेपाल उखु उत्पादक किसान महासंघका अध्यक्ष कपिलमुनी मैनालीले बताए ।
उनका अनुसार उखुको लागत र चिनीको बिक्री मूल्य अनुसार उखुको मूल्य प्रतिक्वीन्टल रु सात सय ५० हुनुपर्ने,गत वर्ष उखु बिक्रि गरेको अनुदान वापतको बाँकी रकम ५२ करोड राज्यले तत्काल भुक्तानी गर्नु पर्ने र कृषि मन्त्रालय,अर्थ मन्त्रालय,उद्योग मन्त्रालय,उद्योगपति र उखु उत्पादक किसानहरुबीच सार्थक वार्ता गर्नुपर्ने माग राखेर जिल्लाका उखु उत्पादक किसानहरु आन्दोलनमा उत्रिएका हुन ।

उखु उत्पादक किसानहरु नराखी कृषि,अर्थ,उद्योग मन्त्रालयले उद्योगीहरुको हितमा किसान मारा मुल्य निर्धारण गर्दा जिल्लाका उखु उत्पादक किसानहरु मारमा पर्नुका साथै उखुमा गरेको लगानी पनि नउठ्ने अवस्था आएपछि बाध्य भएर आन्दोलीत भएका उखु किसानहरुको आन्दोलनका अगुवा स्थानीय ताराराज पन्त(अर्जुन)ले बताए । उनका अनुसार उखु उत्पादक किसानहरुको माग सम्बोधन नहुँदा सम्म आन्दोलन जारी रहने र मंगलबार मशाल जुलुस तथा बुधबार पुर्व पश्चीम लोकमार्गमा चक्काजाम गर्ने कार्यक्रम समेत रहेको छ ।
विरोध कार्यक्रममा मधेस प्रदेशसभा सदस्य जवाहरलाल कुशवाह, निवर्तमान प्रदेशसभा सदस्य डिल्लीप्रसाद उप्रेती,नेपाली कांग्रेस हरिवन नगर सभापति रामशरण उप्रेती,नेकपा(माओवादी केन्द्र)हरिवन नगर कमिटि अध्यक्ष ताराराज पन्त(अर्जुन),हरिवन नगरपालिका ११ का वडाध्यक्ष शेष मेहबुव रेजा,मिलगेट उखु उत्पादक समिति सर्लाहीका अध्यक्ष राजकुमार उप्रेतीसहित उखु उत्पादक किसानहरुका अगुवाहरूको सहभागीता रहेको छ भने जिल्लाका आन्दोलनरत उखु उत्पादक किसानहरुले सडकमा उखु बोकेका सवारी साधनलाई रोकेका छन् ।
यता,जिल्लाका उखु उत्पादक किसानहरु चालु सिजनको उखुको मुल्य निर्धारण गर्न र गतवर्ष बिक्रि गरेको उखुको राज्यले दिनुपर्ने अनुदान रकमको माग गर्दै सडक आन्दोलनमा रहेको समयमा किसान अगुवा एवम माओवादी केन्द्रका नेता शेष इस्तिहार इन्दु शंकर चिनी उद्योग हरिवनको गेटमा सोमबारबाट आमरण अन्सनमा बसेका छन् ।
चालु सिजनका लागि उखुको मुल्य प्रति क्विन्टल रु सात सय ५० कायम हुनुपर्ने,मुल्य अभिवृद्धि कर वापतको रकम बक्यौता रकम तुरुन्त भुक्तानी हुनुपर्ने,उखुको अनुदान वापतको रकम सोही आर्थिक वर्ष भित्रै भुक्तानी भई सक्नु पर्ने,उन्नत जातको उखुको बिउको व्यावस्था गरिनुपर्ने,कृषियोग्य जमिनमा सिचाईको व्यावस्था हुनु पर्ने र किसानलाई चाहिने मलखाद्यको व्यावस्था गरिनु पर्ने माग राख्दै इस्तिहार आमरण अन्सनमा बसेका हुन ।