सर्लाहीका उखु उत्पादक किसानहरुले राज्यले तोकेको उखुको मुल्यमा असमर्थ जनाउँदै विरोध प्रदर्शन गरेका छन् ।उखुको मूल्य तत्काल तोक्न र गत वर्षको अनुदान वापतको बाँकी बक्यौता रकम भुक्तानी गर्न माग गर्दै जिल्लाका किसानहरु प्रदर्शनमा उत्रिएका मिलगेट उखु उत्पादक समिति सर्लाहीका अध्यक्ष राजकुमार उप्रेतीले जानकारी दिदिए ।
उनका अनुसार जिल्लाका उखु उत्पादक किसानहरुले आन्दोलनको तयारी स्वरूप नै बृहत भेला गरेका र चालु सिजनको उखुको मूल्य प्रतिक्विन्टल रु सात सय ५० कायम गर्नु पर्ने,गत किसानहरुले बिक्रि गरेको उखुको अनुदान वापतको रकम तत्कालन भुक्तानी गर्नु पर्ने भन्दै उखुका लाथ्रा बोकेर विरोध प्रदर्शन गरेका हुन । गत वर्ष सरकारले दिनुपर्ने रु ७० प्रति क्विन्टल उखुको अनुदान अहिलेसम्म रु २१ मात्रै प्राप्त भएको र बाँकी रु ४९ प्रति क्विन्टल उखुको अनुदान यथाशीघ्र भुक्तानी गर्न जिल्लाका उखु उत्पादक किसानहरुले माग गरेका अध्यक्ष उप्रेतीले बताए ।
आफुहरुले शनिबार गरेको विरोध प्रदर्शनबाट पनि राज्यको ध्याननकर्षण नभए सर्वदलिय संघर्ष समिति बनाइने र चरणबद्ध आन्दोलन गर्ने साथै आफुहरुको माग पुरा नहुँदा सम्म कुनै पनि चिनी मिलहरु सञ्चालन हुन नदिने नेपाल उखु उत्पादक किसान महासंघका अध्यक्ष कपिल मुनि मैनालीले बताए ।धमाधम उखु काटेर बेच्नुपर्ने समयमा सरकारले उखुको मूल्य नतोक्दा किसान निराश बनेका साथै मूल्य नतोकी चिनी मिल नचलाउन जिल्लाका उखु उत्पादक किसानहरुले आग्रह गरेपछि देशकै सबैभन्दा ठूला दुई चिनी उद्योग इन्दुशंकर चिनी उद्योग हरिवन र एभरेष्ट चिनी मिल रामनगर महोत्तरीले उखु क्रसिङ सुरु गर्न नपाएका अध्यक्ष मैनालीले बताए ।
उखु उत्पादक किसानहरुसंगबाट उखु खरिद गरे वापत सबै किसानहरुलाई भुक्तानी गरि सकेको उद्योगले मंसिर २६ गतेबाट उद्योग चलाउने भन्दै मंसिर २१ गते डोङ्गा पुजा समेत गरि केही चलान समेत बाढी सकेको इन्दु शंकर चिनी उद्योग हरिवनका उखु प्रवन्धक योग नारायण रजकले बताए ।उनका अनुसार उखु उत्पादक किसानहरुको आग्रह पछि बाँडिएको चलान पनि रोकिएको र उद्योग परिसरमा आइपुगेको उखु डम्पीङ गरेर राखिएको छ ।
मंसिर २५ गते कृषि मन्त्रालयमा भएको वार्तामा सरकारले उखुको मूल्य प्रति क्विन्टल रु पाँच सय ६५ प्रस्ताव गरेपनि उखु उत्पादक किसानहरुले त्यो अस्वीकार गरेका छन् ।चिनीको बढ्दो मूल्य र उखु उत्पादन लागतलाई आधार मानेर यो वर्ष उखुको मूल्य प्रतिक्विन्टलरु सात सय ५० पाउनुपर्ने उखु उत्पादक किसानहरुको माग छ।गतवर्र्ष सरकारी अनुदानसहित उखुको मूल्य प्रति क्विन्टल रु छ सय २० कायम भएको थियो ।