राज्यले निर्धारण गरेको उखुको मुल्य प्रति सर्लाहीका किसानहरुको आपती,प्रजिअ धमालालाई बुझाए ज्ञापन पत्र

2.5k Shares

सर्लाहीका उखु उत्पादक किसानहरुका अगुवाहरुले राज्यले निर्धारण गरेको उखुको मुल्य प्रति असहमती जनाउँदै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् ।नेपाल उखु उत्पादक किसान महासंघ,उखु उत्पादक किसान हकहित संरक्षण समिति र मिलगेड उखु उत्पादक किसान समितिले चालु सिजनका लागि राज्यले निर्धारण गरेको उखुको मुल्यमा असहमती जनाउँदै प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमालालाई ज्ञापन बुझाएका हुन ।राज्यले गतवर्षको भन्दा उखुको प्रति क्विन्टल रु २५ बढाएर पाँच सय ६५ बनाएको भएपनि त्यसमा आफुहरुको सहमती नरहेको र चालु सिजनका लागि उखुको मुल्य रु सात सय ५० बनाउनु पर्ने माग राख्दै प्रमुख जिल्ला अधिकारी धमालालाई ज्ञापन पत्र बुझाइएको नेपाल उखु उत्पादक किसान महासंघका अध्यक्ष कपिलमुनी मैनालीले जानकारी दिए ।
जिल्लाका उखु उत्पादक किसानहरुका अगुवा,सरोकारवाला निकाय र जिल्लाका जनप्रतिनिधिहरुले राज्यले चालु सिजनको उखुको मुल्य रु सात सय ५० नबनाउँदा सम्म उद्योगहरु सञ्चालन नगर्ने आग्रह गर्दै ज्ञापन पत्र बुझाइएको मिलगेड उखु उत्पादक किसान समितिका अध्यक्ष राजकुमार उप्रेतीले बताए ।उनका अनुसार उखुको मूल्य कामय गर्दा चिनीको बढेको मूल्य,उखु उत्पादनमा लाग्ने हालको लागत,उखुको सह उत्पादन समेतको आधारमा गरिनु पर्ने भन्दै आफुहरुले प्रमुख जिल्ला अधिकारी धमालालाई ज्ञापन पत्र बुझाएको उखु उत्पादक किसानहरु अगुवाहरुले बताएका छन् ।
बजारमा चिनीको माग बढेको समयमा चिनीको मुल्य बढाउने र उखु क्रसिङ गर्ने समयमा मुल्य घटाएर उखु उत्पादक किसानहरुलार्ई कम पैसा दिने उद्योगीहरुको नीतिले उखु उत्पादक किसानहरु मारमा परेका कारण आफुहरुले प्रमुख जिल्ला अधिकारी धमाला मार्फत सरकारको ध्यानाकर्षण गराएको नेपाल उखु उत्पादक किसान महासंघका अध्यक्ष मैनालीले बताए ।प्रमुख जिल्ला अधिकारी धमलालाई बुझाइएको ज्ञापन पत्रमा गत वर्षको अनुदान वापतको रकम पनि यथाशिघ्र भुक्तानी गरी दिन माग गरिएको मिलगेड उखु उत्पादक किसान समितिका अध्यक्ष उप्रेतीले बताए ।
उनका अनुसार गतवर्ष नै उखु बेचेको अनुदान वापतको रकम अझैसम्म पनि जिल्लाका उखु उत्पादक किसानहरुले नपाएका भएपनि जिल्लाका चिनी मिलहरुले चालु सिजनको उखु क्रसिङको काम सुरु गरेपछि आफुहरुको ध्यानाकर्षण भएको हो ।मूल्य निर्धारण नभएसम्म चिनी उद्योग संचालन गर्न नदिने उखु उत्पादक किसानहरुले बताएका छन्।उखु उत्पादक किसानहरुको माग पुरा नभए कडा आन्दोलनमा उत्रन बाध्य हुने जिल्लाका उखु उत्पादक किसानहरुहरुका अगुवाहरुका साथै सरोकारवालाहरुले चेतावनी समेत दिएका छन् ।
यता,जिल्लाका अरु चिनी मिलहरुले किसानहरुको उखुको भुक्तानी नगर्दा आफुहरुलाई समस्या भएको हरिवन नगरपालिका ११ मा रहेको इन्दु शंकर चिनी उद्योगका उखु प्रवन्धक योग नारायण राजकले गुनासो गरे ।जिल्लामा रहेका चिनी उद्योगहरु मध्य इन्दु शंकर चिनी उद्योगले उखु उत्पादक किसानहरुबाट उखु खरिद गरे वापतको सबै रकम किसानहरुलाई भुक्तानी गरि सकेको भएपनि किसानहरुले चालु सिजनको मुल्य निर्धारण नहुँदा सम्म चिनी मिल नचलाउन आग्रह गरेपछि आफुहरुले उद्योग नचलाएको भएपनि अरु चिनी मिलहरुका कारण आफुहरु मारमा परेको उनको भनाई छ ।
जिल्लाका उखु उत्पादक किसानहरुले राखेको माग आफुहरुले सम्बोधन गर्दै उद्योग नचलाएको भएपनि किसानहरुको रकम भुक्तानी नै नगरेका उद्योगहरुले भने किसानहरुका मागलाई वेवास्था गर्दै उद्योग सञ्चालन सुरु गरेका छन् ।देशभरीकै चिनी मिलहरुको तुलनामा उखु उत्पादक किसानहरुलाई उद्योगले दिनुपर्ने सबै रकम दिएर राम्रो छवि बनाएको इन्दु शंकर चिनी उद्योगले मंसिर २६ गतेबाट चालु सिजनको क्रसिङ गर्ने तयारी गरेको भएपनि किसानहरुले राज्यले मुल्य निर्धारण गर्दा एकतर्फि रुपमा आफुखुसी मुल्य निर्धारण गरेका कारण आफुहरुको माग अनुसारको मुल्य निर्धारण नगर्दा सम्म उद्योग नचलाउन आग्रह गरेपछि उद्योग कहिलेबाट चलाउने भन्ने अन्यौलता भएको इन्दु शंकर चिनी उद्योगका प्रशासन शाखा प्रमुख  ठाकुर प्रसाद नेपालले बताए ।

सम्बन्धित समाचार