लालबन्दीका वडा अध्यक्षलाई पोष्टर बनाउछु भनेपछि उपसचिव जोशीको ३ महिना मै काज फिर्ता,

2.4k Shares

सर्लाहीको लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशीको काज फिर्ता भएको छ।भदौ ३ गते लालबन्दी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएर काजमा आएका जोशीको लालबन्दी नगरपालिकाले ३ महिना मै काज फिर्ता गराएको हो ।उपसचिव जोशीबाट काम गर्न अप्ठेरो भएको भन्दै लालबन्दी नगरपालिकाले संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा जोशीको काज फिर्ता पत्र पठाएको नगरपालिकाका प्रवक्ता एवम लालबन्दी नगरपालिका १६ का वडा अध्यक्ष गणेश बहादुर थापाले जानकारी दिए ।उनका अनुसार भदौ ३ गते लालबन्दी नगरपालिका आएका उप सचिव जोशीलाई नगर प्रमुख बासुदेव अधिकारीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेखी मन्त्रालयमा काज फिर्ता पठाएका हुन ।
नगर प्रमुख अधिकारीले पठाएको पत्रमा “उप सचिव जोशीको छोटो समयको कार्य सम्पादन मूल्यांकन तथा दैनिक गरिने व्यवहार हेर्दा आवश्यकता अनुसार समन्वय,सहकार्य र सहभागिताको माध्यमबाट वार्षिक स्वीकृत योजनाहरु सम्झौता गरी कार्यान्वयन गर्न, नागरिकहरुमा सेवा प्रवाह गर्न,दातृ निकाय,संघ÷संस्थाहरुसँग साझेदारी गर्ने समेतका विभिन्न तह,तप्काबाट प्राप्त हुने जनगुनासो सुन्ने जस्ता काम गर्न गराउन नसकिने देखिएकाले निजलाई मन्त्रालयमै हाजिर हुनेगरी काज फिर्ता गरी पठाइएको छ ।”भनिएको छ ।
उनको व्यवहार तथा शैलीका कारण उपसचिव जोशीसँग जनप्रतिनिधिहरु र कर्मचारीहरु असन्तुष्ट भएका थिए ।उनी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएर आएको केही दिनमै जनप्रतिनिधिहरुसंग विवाद समेत भएको थियो।नगरप्रमुख अधिकारी र लालबन्दी नगरपालिकाका सबै वडाध्यक्षहरुले बैठक नै गरेर आफ्नो स्वभाव सुर्धान आग्रह गरेपनि उपसचिव जोशीले आफ्नो तानाशाही शैली र स्वभाव नसुधारेपछि आएको तीन महिना मै उनको काज फिर्ता गरिएको लालबन्दी नगरपालिका १ का वडा अध्यक्ष हरि बहादुर भट्टराई(हरिहर)ले बताए ।
उनका अनुसार पहाडी जिल्लामा कतै प्रमुख जिल्ला अधिकारी भएर बसेका उप सचिव जोशीले स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत भएर आउँदा पनि सोही शैली परिवर्तन नगर्दा जनप्रतिनिधिहरुका साथै कर्माचारीहरु उनीसंग असन्तुष्ट बनेका थिए ।महोतरीको बर्दिवास नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुँदा केही समय पहिला उप सचिव जोशीले स्वास्थ्य शाखाका कर्माचारीबाट पिटाई समेत खाएका स्रोतको दाबी छ । सोही स्वाभाव लालबन्दी नगरपालिकामा पनि देखाउन थालेपछि नगरपालिकाको कार्यपालिका बैठक मै उनको काज फिर्ता गर्नुपर्ने जनप्रतिनिधिहरुले माग गरेका थिए ।
उपसचिव जोशीको काज फिर्ता गरेपछि नगरप्रमुख अधिकारीले नयाँ प्रमुख प्रशासकीय अधिकृत ल्याउन पहल सुरु गरेका नगर प्रमुख अधिकारीको सचिवालयले जनाएको छ ।स्रोतका अनुसार लालबन्दी नगरपालिका ७ नै स्थायी घर भएका हाल धनुषाको मिथिला नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रहेका  उपसचिव वसन्त न्यौपानेलाई लालबन्दी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाएर ल्याउने प्रयास भईररहेको छ ।आफ्नो घर भएकै स्थानीय तह लालबन्दमिा उपसचिव न्यौपाने आउन नमानेका समेत जानकारी प्राप्त भएको छ ।उपसचिव नहुँदा लालबन्दी नगरपालिकाको सामाजिक विकास महाशाखाकी प्रमुख अधिकृत छैँठौँ  लक्ष्मी शिवाकोटीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको नगरपालिका स्रोतको भनाई छ ।उनी नगरपालिकामा हाल रहेका कर्माचारीहरु मध्य सिनियर कर्माचारी हुन ।

सम्बन्धित समाचार