सर्लाहीको हरिवन नगरपालिका “समृद्धिको लागि वन परियोजना” कार्यक्रममा मधेश प्रदेशका स्थानीय तहहरु मध्य उत्कृष्ट नगरपालिका घोषणा भएको छ ।मधेश प्रदेशका एक सय ३६ स्थानीय तहरु मध्य“समृद्धिको लागि वन परियोजना”कार्यक्रम सञ्चालनको कार्य सम्पादन तर्फ हरिवन नगरपालिका उत्कृष्ट घोषणा भएको हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी(कमल)ले जानकारी दिए ।
उनका अनुसार परियोजनाको अनुगमन तथा मूल्यांकन समुहको स्थलगत अवलोकन तथा अध्ययनको आधारमा प्रदेश भरीमै हरिवन नगरपालिका“समृद्धिको लागि वन परियोजना”तर्फ उत्कृष्ट ठहरिएको हो ।“समृद्धिको लागि वन परियोजना”लागु भएका मधेस प्रदेशका २५ वटा स्थानीय तहहरु मध्ये वन क्षेत्रमा राम्रो कार्य सम्पादन गरे वापत हरिवन नगरपालिका उत्कृष्ट भइ सम्मानित भएको नगरपालिकाका वन अधिकृत सुवाश कुशवाहले जानकरी दिए । उनका अनुसार विश्व बैंक,रेड कार्यान्वयन केन्द्र बबरमहल तथा प्रदेश परियोजना व्यवस्थापन इकाई मधेस प्रदेशले हरिवन नगरपालिकालाई उत्कृष्ट भएको भन्दै प्रमाणपत्र सहित सम्मान गरेको हो ।
परियोजना कार्यन्वयनका लागि महत्वपुर्ण भूमिकामा निर्वाह तथा सहजीकरण गर्ने डिभिजन वन कार्यालय सर्लाही,सव–डिभिजन वन कार्यालय जानकीनगर,सामुदायिक वन उपभोक्ता महासंघ सर्लाही र हरिवन नगरपालिका भित्रका सामुदायिक वन समुह,नीजि वन समुह,साझेदारी वन समुह र कृषि वन समूहहरु तथा समुदायलाई नगर प्रमुख बुढाथोकीले विशेष धन्यवाद दिए ।परियोजनाले हरियो वन अन्तर्गत सम्बन्धीत क्षेत्रका जनतालाइ लक्षित गरि नगरपालिका तथा गाउँपालिका स्तरमा वन सम्वन्धी विभिन्न जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आएको अधिकृत कुशवाहले बताए ।
उनका अनुसार “समृद्धिको लागि वन परियोजना”अन्र्तगत हरिवन नगरपालिकाका विपन्न कृषकहरुलाई आयआर्जनमा केन्द्रीत गर्न तरकारी तथा फलफुल उत्पादन गर्दै जीविकोपार्जनमा सहयोग पुर्याएको छ । खेर गएको जमिनमा तरकारी तथा फलफुल लगाएर त्यसबाट आएको आम्दानीले स्थानीय विपन्न नागरिकहरुको जीविकोपार्जनमा निकै राहत पुगेको कृषि प्राविधिक सुरज खनालले जानकारी दिए ।उनका अनुसार करिब ६४ विपन्न परिवारलाई“समृद्धिको लागि वन परियोजना”ले ठुलो राहत पुर्याएको छ ।“समृद्धिको लागि वन परियोजना” जिल्लाका चार वटा पालिकामा सञ्चालन भई रहेको छ । जिल्लाको हरिवन र हरिपुर्वा नगरपालिकाका साथै पर्सा र ब्रम्हपुरी गाउँपालिकामा “समृद्धिको लागि वन परियोजना”सञ्चालन भई रहेको हो ।