सर्लाही भन्सार कार्यालयले चालू आर्थिक वर्षको चार महिनामा उत्साहजनक राजश्व संकलन गर्न सफल भएको छ ।प्रशासनिक सक्षमता,जिल्लाका सरकारी कार्यालय एवंम् सरोकारवालाहरुसँगको समन्वयका कारण कार्यालयले चार महिनामा रु.१८ करोड ६४ लाख २६ हजार राजश्व असुली गरेको सर्लाही भन्सार कार्यालयका प्रमुख एवम भन्सार अधिकृत नरेश साहले जानकारी दिए ।
उनका अनुसार कार्यालयको चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्मको लक्ष्य रु.२१ करोड ८५ लाख १५ हजार रहेकोमा लक्ष्यको ८६ प्रतिशत राजश्व असुली भएको हो । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा ६९ प्रतिशत,भदौमा ७१ प्रतिशत,असोजमा ८३ प्रतिशत र कात्तिकमा एक सय १८ प्रतिशत राजश्व संकलन गरेको कार्यालय प्रमुख साहले बताए ।
यस आर्थिक वर्षका लागि कार्यालयले रु ६७ करोड ३९ लाख ९४ हजार राजश्व असुली गर्ने लक्ष्य राखेकोमा लक्ष्य पूरा हुने संकेत देखिएको कार्यालय प्रमुख साहले बताए ।उनले गत आर्थिक वर्षको तुलनामा नियमितरुपमा राजश्व बढ्दै गएको हो ।जाँच पासमा कडाई र सुरक्षाकर्मीहरुको सक्रियता र अवैध चोरी पैठारीमा गरिएको कडाइले राजश्व संकलनमा सकारात्मक प्रभाव पारेको उनको भनाई छ ।खुला सीमानाका कारण राजश्व संकलनमा चुनौति थपिएपनि त्यसप्रति भन्सार कार्यालय लागिपरेको उनले बताए ।
त्यस्तै अवैध चोरी पैठारीमा मालवस्तु ढुवानीमा प्रयोग गरी जफत भएका सवारीसाधन तत्काल लिलाम प्रक्रियामा लैजाने तयारी समेत गरिएको कार्यालयले जनाएको छ ।ती सवारीसाधनहरु तत्काल लिलाम प्रक्रियामा लैजाने तयारी भइरहेको कार्यालय प्रमुख साहले जानकारी दिए ।मुद्धा प्रक्रियामा गएका र जफत भएका दुई पांग्रे र चार पांग्रे सवारीसाधन चाँडै लिलाम हुने कार्यालय प्रमुख साहले बताए ।अहिले आफु कार्यालय व्यवस्थापनका साथै विगत लामो समयदेखि कार्यालय परिसरमा थन्किएका सवारी साधनहरुको लिलामी प्रक्रियामा लागेको उनले बताए ।