सर्लाहीका सरकारी कार्यालयहरुको नियमित मासिक बैठकले आफ्नो कार्यालयबाट प्रदान हुने सेवा सुविधा सहज,सरल,छिटोछरितो बनाउने एवम नागरिकको गुनासोलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयबाट नियमित रुपमा कार्यालय अनुगमन गर्ने निर्णय गरेको छ ।
नेपालीहरुका विशेष चाडपर्वहरु सकिएपछि आईतबार जिल्ला प्रशासन कार्यालय सर्लाहीको सभा हलमा बसेको जिल्लाका सबै सरकारी कार्यालयहरुको नियमित बैठकले खुल्ला सीमानाका कारण हुने तस्करी,राजश्व छली रोकथाम तथा नियन्त्रण गरी सरोकार निकायहरुले राजस्व असूलीमा विशेष ध्यान दिने,कालोबजारी,अखाद्य बस्तुको मिसावट लगायतका उपभोक्ता हितविपरीतका कार्यहरु नियन्त्रण एवम कानूनी दायरामा ल्याउन प्रभावकारी रुपमा बजार अनुगमन गर्ने,जिल्ला आपतकालीन संचालन केन्द्र र स्थानीय आपतकालीन संचालन केन्द्रलाई चलायमान बनाउन सबै स्थानीय तहमा स्थानीय आपतकालीन संचालन केन्द्र सेवा संचालन नगरिएका स्थानीय तहहरुले यथासिघ्र स्थानीय तहमा स्थानीय आपतकालीन संचालन केन्द्र संचालन गरी जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराउने लगायतका निर्णयहरु गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमालाले जानकारी दिए ।
उनका अनुसार आगामी महिना देखि बस्ने कार्यालय प्रमुखहरुको नियमित बैठकमा कम्तिमा दुई वटा कार्यालयहरुले सेवा प्रवाह,सेवा प्रवाहका क्रममा देखिएका समस्या,प्रगति,नवप्रवर्तनात्मक कार्य लगायतका विषयमा प्रस्तुतीकरण घरेलु तथा साना उद्योग कार्यालय र उष्ण प्रादेशिक बागवानी केन्द्रले गर्ने,सेवा प्रवाहलाई सरल,सहज छिटोछरितो प्रभावकारी रुपमा नागरिकलाई महसुस हुने गरी सेवा प्रवाहको वातावरण मिलाउन सबै कार्यालयहरुले अनिवार्य रुपमा ई– हाजिरी संचालनमा ल्याउने लगायतका निर्णयहरु भएका छन् ।बैठकमा जिल्लाका सबै सरकारी कार्यालयहरुका कार्यालय प्रमुखहरु एवम कार्यालयका प्रतिनिधिहरुको विशेष उपस्थिति रहेको थियो ।