बागवानीको आँपले इतिहाँस रच्यो,सवा करोडमा ठेक्का लाग्यो

2k Shares

दुर्गा कुमारी अधिकारी
सर्लाहीको लालबन्दी नगरपालिका १ स्थित नवलपुरमा रहेको उष्ण प्रदेशीय बागवानी केन्द्र नवलपुरले यस वर्ष करिब सवा करोडमा आँप ठेक्का लगाएको छ । नेपालको सबै भन्दा ठूलो उष्ण प्रदेशीय बागवानी केन्द्र नवलपुरले यस वर्ष रु एक करोड ११ लाख ६० हजारमा आँप ठेक्का लगाएको उष्ण प्रदेशीय बागवानी केन्द्र नवलपुरका निमित्त प्रमुख एवम राम कुमार यादवले जानकारी दिए ।
उनका अनुसार धेरै संघर्ष पछि बागवानी केन्द्र नवलपुरको इतिहासमा रु एक करोड ११ लाख ६० हजारमा यस वर्ष आँप ठेक्का लागेको र एकैदिन रु २८ लाख राजश्व दाखिला भएको हो । केन्द्रमा अहिले सम्मकै सबै भन्दा धेरै रकममा आँप ठेक्का लागेको हो ।
“अन्य वर्षहरुको तुलनामा यस वर्ष अहिलेसम्मकै धेरै झपक्कै आँप फलेका कारणे यसवर्ष अहिलेसम्मकै धेरै राजस्व सङ्कलन गर्ने लक्ष्य लिएइको थियो जस अनुसार आँप ठेक्का पनि लाग्यो,यसमा बागवानी केन्द्रका सबै कर्माचारीहरुको लगनशिलता र मेहनत छ ।”केन्द्रका निमित्त प्रमुख यादवले बताए । नेपाल कै सबै भन्दा ठुलो उष्ण प्रदेशीय बागवानी केन्द्र नवलपुरमा करिब छ हजार आँपका रुखहरु ढकमक्क फुले अनुसार फल लागेका कारण यस वर्षको आँपको ठेक्काले बागवानीको इतिहाँस रचेको केन्द्रले जनाएको छ ।
करिब एक सय ८५ दशमलव पाँच हेक्टर अर्थात् तीन सय बिघा क्षेत्रफलमा फैलिएको बागवानी केन्द्रमा छ हजार आँप र छ सय २१ लिचीका बोट रहेका छन् । केन्द्रमा विभिन्न ३५ जातका आँपका रुख रहेका छन् ।आठ जातका लिचीका बोट रहेका छन् । 
केन्द्रमा भारतीय,पाकिस्तानी,थाइल्याण्ड र अमेरिकन देशका आँपका रुखहरु रहेका छन् ।त्यसमा भारतीय जातका बम्बई,मालदह,दसहरी,अम्रपालि,कलकतीया,निलम,मलिका,सुकतारा,सिपिया,कुष्णभोग र जर्दा तथा पाकिस्तानीमा अमनदसहरी,फजिली,अनबरतौल,नुरजाहा र अबेहयात जातका आँपका रुखहरु रहेका छन् । साथै थाइल्याण्डका आँपका जातमा डकमाइ र अमेरिकन जातको आँपमा हेडेन तथा केन्ट छन् भने अर्लीलार्ज रेड, शाही,मुज्फरपुर,सिडलेस,मैक्लिन,बम्बई,कलकतिया र चाइन गरी आठ प्रजातिका लिचीका बोटहरु बगैँचामा रहेका छन ।
यस वर्षका लागि लिची रु १२ लाख १८ हजारमा ठेक्का लगाइसकेको केन्द्रका निमित्त प्रमुख यादवले बताए । “केन्द्रमा यस वर्ष अरु वर्षको तुलनामा फरक तरिकाबाट र अत्यधिकरुपमा आँप फलेको भएपनि लिची कम फलेको छ तर पनि यस वर्ष लिची अरु वर्षको तुलनामा बढीमा ठेक्का लागेको हो । यसरी यो बगैँचामा यसअघि कहिल्यै आँप र लिची फुलेको थिएन”,निमिक्त कार्यालय प्रमुख यादवले बताए । “हामीले बगैँचा व्यवस्थापनमा गरेको मेहनतको प्रतिफल यस वर्ष राम्रै भयो,कहिले नफुलेको नफलेको आँप यस वर्ष फुले,फलेका कारण यस वर्ष अहिले सम्म कै सबै भन्दा धेरै रकममा ठेक्का लागेको केन्द्रका निमित्त प्रमुख यादवले बताए ।
उक्त बगैँचाबाट अहिलेसम्म एक वर्षमा धेरै भनेको करिब रु एक करोडसम्मको मात्रै आम्दानी भएको बताइएको छ । यस वर्ष आँप र लिचीका सबैजसो बोट झपक्कै फुलेका र फुले अनुसार फलेकाले केन्द्रले राजश्व संकलनमा इीतहाँस रचेको हो ।
यस वर्ष आँपको फूल र फलमा औषधि तथा विषादी छर्कन करिब रु २४ लाख खर्च गरेर आधुनिक मेसिनसमेत खरिद गरेर ल्याएको केन्द्रले जनाएको छ । जमिनबाट ६० फिट उचाइसम्म सजिलै विषादी छर्न सकिने यो मेसिन नेपालमै पहिलो पटक प्रयोग भइरहेको केन्द्र प्रमुख यादवले बताउनु भयो । जसका कारण आँप तथा लिचीमा किरा नलागेका कारण फुले अनुसार नै आँप तथा लिची फलेको छ ।
गत आर्थिक वर्षमा आँप रु २ लाख र लिची रु ११ लाख ३० हजारमा ठेक्का लागेको थियो । गतवर्ष आँप तथा लिची दुवै कम फलेको केन्द्रले जनाएको छ । जसबाट जम्मा रु ७०  लाख मात्र राजश्व संकलन भएकोमा यस वर्ष करिब रु दुई करोड राजश्व संकलन हुने  अनुमान गरिएको केन्द्रका निमित्त प्रमुख यादवले बताए ।

सम्बन्धित समाचार