प्यूठान । झिमरुक गाउँपालिकाले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु गरेको छ । बुधबार गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममार्फत गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले अभियानको उद्घाटन गरेका हुन।
अभियानको उद्घाटन गर्दै अध्यक्ष महतरा क्षेत्रीले समाजमा हुने सबै प्रकारका लैङ्गिक हिंसा, विभेद, शोषण तथा दुर्व्यवहारको अन्त्य गरी समतामूलक र सभ्य समाज निर्माण गर्न सबैको साझा प्रयास आवश्यक रहेको बताए ।

उनले महिला, ज्येष्ठ नागरिक, बालबालिका लगायत सबै नागरिकलाई सम्मान, समानता र सुरक्षाको प्रत्याभूति दिलाउन स्थानीय तह प्रतिबद्ध रहेको उल्लेख गर्दै हिंसामुक्त समाज निर्माणका लागि व्यक्ति, परिवार, समुदाय र संस्थागत तहबाट सहकार्य आवश्यक रहेको बताए ।
समाजमा हिंसा, विभेद र दुर्व्यवहार अन्त्य गर्दै समानता, सम्मान र सुरक्षित वातावरण निर्माण गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो ।
"लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता : समानता, सम्मान र सुरक्षित समाजको सुनिश्चितता" भन्ने मुल नाराका साथ सुरु भएको कार्यक्रम "म हिंसा गर्दिन, गरेको सहन्न, कसैले गरेमा यसको विरुद्धमा आवाज उठाउछु" भन्दै प्रतिबद्धता तथा हस्ताक्षर संकलन अभियान समेत गरिएको थियो ।