काठमाडौं । नेपाल र भारतबीच ऊर्जा सहकार्य, आर्थिक सहायता तथा पूर्वाधार विकासका विषयमा उच्चस्तरीय छलफल भएको छ। काठमाडौंमा सम्पन्न नेपाल–भारत परराष्ट्र सचिवस्तरीय बैठकमा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउनेदेखि विभिन्न विकास परियोजनामा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको हो।
बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव अमृतबहादुर राई र भारतीय पक्षको नेतृत्व विदेश सचिव विक्रम मिश्रीले गरेका थिए। वर्तमान सरकार गठन भएपछि भारतबाट भएको यो पहिलो सचिवस्तरीय उच्चस्तरीय कूटनीतिक संवाद हो।
बैठकमा नेपालले २ अर्ब अमेरिकी डलरभन्दा बढीको आर्थिक सहयोग प्याकेज प्रस्ताव गरेको छ। प्रस्तावित प्याकेजमा सहुलियतपूर्ण ऋण, अनुदान तथा सिद्धार्थ राजमार्ग स्तरोन्नतिलगायतका परियोजना समेटिएका छन्। यस विषयलाई प्रधानमन्त्री बालेन्द्र शाहको प्रस्तावित भारत भ्रमणका क्रममा थप टुंगो लगाउने तयारी छ।
त्यसैगरी, भोटेकोशी बाढीबाट क्षतिग्रस्त भौतिक पूर्वाधार पुनर्निर्माणका लागि नेपालले माग गरेको ५० करोड अमेरिकी डलर अनुदानसहितका परियोजनामा सहयोग गर्न भारत सकारात्मक देखिएको छ।
बैठकमा ऊर्जा व्यापार विस्तार, पश्चिम सेती, सेती नदी–६ र फुकोट कर्णाली जलविद्युत् आयोजना निर्माण तथा अन्तरदेशीय विद्युत् प्रसारण लाइन विस्तारका विषयमा पनि छलफल भएको थियो। हवाई तथा रेलमार्गमार्फत दुई देशबीचको कनेक्टिभिटी विस्तार गर्ने विषयले समेत प्राथमिकता पाएको छ।
नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव मिश्रीले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए। भेटमा आर्थिक विकास, ऊर्जा व्यापार तथा द्विपक्षीय सहकार्यका विषयमा विचार आदानप्रदान भएको थियो।
यता, गोर्खा भर्ती र सीमा विवादजस्ता लामो समयदेखि समाधान हुन नसकेका संवेदनशील विषयलाई भने राजनीतिक तहबाटै छलफल गरी अघि बढाउने दुवै पक्षबीच समझदारी भएको छ।
नेपाल र भारतबीच पछिल्लो समय देखिएका कूटनीतिक असहजता कम गर्दै आर्थिक, ऊर्जा तथा पूर्वाधार विकासमा सहकार्यलाई नयाँ गति दिने उद्देश्यले यस बैठकलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ।