काठमाडौं । एक वर्षभित्र दुईवटा भीषण रेल दुर्घटना भएपछि स्पेनका यातायातमन्त्री ओस्कार पुएन्तेले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । पछिल्लो दुर्घटनामा ६९ जनाको मृत्यु हुनुका साथै २०० भन्दा बढी व्यक्ति घाइते भएपछि उनले नैतिक जिम्मेवारी लिँदै पद छाड्ने निर्णय गरेका हुन् ।
पुएन्तेले पछिल्लो दुर्घटना भएको छ दिनपछि राजीनामाको घोषणा गरेका हुन् । म्याड्रिडमा सांसदहरूलाई सम्बोधन गर्दै उनले एक वर्षभन्दा कम अवधिमा दुईवटा गम्भीर रेल दुर्घटना भएपछि यातायातमन्त्रीका रूपमा पदमा रहिरहन उचित नहुने बताएका छन् ।
अधिकारीहरूका अनुसार म्याड्रिड र दक्षिणी क्षेत्र अन्डालुसियालाई जोड्ने उच्च गतिको रेलमार्गमा मानवीय त्रुटि र कम्प्युटर प्रणालीमा आएको गडबडीका कारण पछिल्लो दुर्घटना भएको प्रारम्भिक जानकारी छ ।
स्पेनको राष्ट्रिय रेल सेवाअन्तर्गत सञ्चालनमा रहेको एउटा तीव्र गतिमा रहेको रेलले रोकिराखिएको अर्को रेललाई ठक्कर दिएको थियो । रेलमार्गको सुरक्षा प्रणालीमा समस्या देखिएपछि सेवा रोकिएको अवस्थामा समेत उक्त दुर्घटना भएको थियो ।
मन्त्री पुएन्तेका अनुसार रेललाई अगाडि बढ्न रोक्ने रातो सङ्केत हुँदाहुँदै पनि रेल अघि बढ्न अनुमति दिइएको थियो । यस्तो निर्णय कुन परिस्थितिमा लिइयो भन्ने विषयमा गम्भीर प्रश्न उठेको उनले बताएका छन् ।
यसअघि गत जनवरीमा पनि अन्डालुसिया क्षेत्रको अदामुज सहरमा दुईवटा उच्च गतिको रेल आपसमा ठोक्किँदा कम्तीमा ४१ जनाको ज्यान गएको थियो । एक वर्षभित्र भएका यी दुई ठूला दुर्घटनाले स्पेनको रेल सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएको छ ।
पछिल्लो दुर्घटनापछि विभिन्न राजनीतिक दलका नेता तथा यातायात मजदुर युनियनले मन्त्री पुएन्तेमाथि राजीनामाका लागि दबाब दिएका थिए । दुर्घटना भएकै रात यातायात मन्त्रालयको मुख्यालयबाहिर प्रदर्शनकारी र प्रहरीबीच झडपसमेत भएको थियो । केही प्रदर्शनकारीले प्रधानमन्त्री पेद्रो सान्चेजको राजीनामासमेत माग गरेका थिए ।
आगामी आमनिर्वाचन हुन तीन साता मात्र बाँकी रहेका बेला पुएन्तेले राजीनामासँगै निर्वाचनमा उम्मेदवार नबन्ने पनि बताएका छन् ।
प्रधानमन्त्री पेद्रो सान्चेजले सामाजिक सञ्जालमार्फत पुएन्तेको निर्णयको प्रशंसा गरेका छन् । उनले पीडितप्रतिको सम्मान र आफ्नो राजनीतिक प्रतिबद्धताका कारण पुएन्तेले पद त्याग गरेको बताएका छन् ।
स्पेनमा पछिल्ला रेल दुर्घटनापछि यातायात सुरक्षा, सरकारी जवाफदेहिता र राजनीतिक नेतृत्वको जिम्मेवारीबारे बहस चुलिएको छ ।