बेलायतमा रहेका नेपाली फुटबल खेलाडी सजन डंगोलको दुई विश्व कीर्तिमान, गिनिज वर्ल्ड रेकर्डमा नाम दर्ज

1.1k Shares

काठमाडौं । बेलायतमा बस्दै आएका नेपाली फुटबल खेलाडी सजन डंगोलले फुटबल जगलिङमा दुईवटा विश्व कीर्तिमान कायम गरेका छन्। उनले फुटबललाई लगातार खुट्टाले उछाल्ने विधामा हासिल गरेको उपलब्धि गिनिज वर्ल्ड रेकर्डमा दर्ता भएको हो।

टोखा, काठमाडौंमा जन्मिएका डंगोलले पहिलो विश्व कीर्तिमान सन् २०२४ फेब्रुअरी १६ मा बेलायतको बर्मिङ्घममा कायम गरेका थिए। उनले एक घण्टामा एउटा खुट्टाले २ हजार २१८ पटक फुटबल उछालेर उक्त कीर्तिमान बनाएका थिए।

त्यसपछि उनले सन् २०२६ मे १५ मा अर्को विश्व कीर्तिमान कायम गरे। यसपटक उनले दुवै खुट्टा पालैपालो प्रयोग गर्दै ६ घण्टा २२ मिनेट ५९ सेकेन्डसम्म फुटबललाई भुइँमा खस्न नदिई लगातार उछालेका थिए।

आइतबार बर्मिङ्घममा आयोजित पत्रकार सम्मेलनमा डंगोलले आफ्नो फुटबल यात्रा, संघर्ष, उपलब्धि र सगरमाथा आरोहणको अनुभवसमेत सुनाएका थिए। ‘फुटबल मैदानदेखि सगरमाथाको शिखरसम्म’ शीर्षकमा आयोजित कार्यक्रममा उनले आफ्नो सफलताका पछाडिका चुनौती र मेहनतबारे चर्चा गरे।

नेपालको ए डिभिजन फुटबलदेखि बेलायतसम्मको यात्रा

सानै उमेरदेखि फुटबलमा रुचि राख्ने डंगोलले अन्डर–१४ राष्ट्रिय लिगबाट आफ्नो फुटबल यात्रा सुरु गरेका थिए। उनले नेपालका ब्रिगेड ब्वाइज क्लब, मनाङ मर्स्याङ्दी क्लब, फ्रेन्ड्स क्लब र बाँसबारी क्लबबाट ए डिभिजन फुटबल खेलेका थिए।

उनी नेपालको अन्डर–१९ राष्ट्रिय टोलीमा समेत छनोट भएका थिए। तर स्वास्थ्य समस्या र चोटपटकका कारण राष्ट्रिय स्तरमा देशको प्रतिनिधित्व गर्ने अवसर भने पाएनन्।

नेपालमा बीबीए अध्ययन पूरा गरेपछि उनी सन् २०२१ मा थप अध्ययनका लागि बेलायत पुगेका थिए। सन् २०२२ मा बर्मिङ्घम सिटी विश्वविद्यालयबाट व्यवस्थापन तथा अन्तर्राष्ट्रिय व्यवसाय विषयमा स्नातकोत्तर पूरा गरेका उनले बेलायतमा पनि फुटबललाई निरन्तरता दिए।

उनले बर्मिङ्घम टाइगर्स, साल्ट्ली स्टालियन्स र गुरु रविदासलगायत क्लबबाट अर्धव्यावसायिक तथा गैरलिग प्रतियोगितामा सहभागिता जनाएका छन्। हाल उनी बेलायतमा फलफूलको गुणस्तर परीक्षणसम्बन्धी काम गर्दै आएका छन्।

फुटबलसँगै सगरमाथा आरोहणमा पनि सफलता

डंगोलले फुटबलमा मात्र नभई पर्वतारोहणमा समेत आफ्नो क्षमता प्रदर्शन गरेका छन्। उनले सन् २०२५ अप्रिल १९ मा ६ हजार ११९ मिटर अग्लो लोबुचे हिमाल आरोहण गरेका थिए।

त्यसको केही समयपछि सन् २०२५ मे १४ मा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका थिए। यससँगै उनले खेलकुद र साहसिक यात्रामा फरक पहिचान बनाएका छन्।

आफ्ना आमाबुबाले गरेको संघर्षबाट प्रेरणा पाएको बताउने डंगोलले निरन्तर अभ्यास, मेहनत र आत्मविश्वासले असम्भव देखिने लक्ष्यसमेत हासिल गर्न सकिने बताएका छन्।

कार्यक्रममा उनका सहकर्मी दिनेश थापा तथा अन्य खेलाडीले पनि डंगोलको लगनशीलता र उपलब्धिको प्रशंसा गरेका थिए। कार्यक्रममा उनको जीवन, फुटबल यात्रा, विश्व कीर्तिमान र सगरमाथा आरोहण समेटिएको वृत्तचित्रसमेत प्रदर्शन गरिएको थियो।

विदेशमा रहेर पनि खेलकुदमार्फत नेपालको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन सफल डंगोलको उपलब्धिले नेपाली युवा खेलाडीका लागि प्रेरणाको काम गरेको छ।

सम्बन्धित समाचार