कोरला नाकाबाट साढे तीन महिनामै ११ अर्बभन्दा बढी राजस्व, ईभी आयातको मुख्य केन्द्र बन्दै

1.2k Shares

काठमाडौं । चीनसँगको उत्तरी व्यापारमा मुस्ताङस्थित कोरला नाकाको महत्त्व तीव्र रूपमा बढ्दै गएको छ। तातोपानी र रसुवागढी नाकामा बाढी, पहिरो तथा सडक अवरोधका कारण व्यापार प्रभावित भइरहेका बेला कोरला नाका वैकल्पिक व्यापारिक मार्गका रूपमा स्थापित हुन थालेको छ।

चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिक १३ गतेसम्मको अवधिमा मुस्ताङ भन्सार कार्यालयले ११ अर्ब ४५ करोड ४७ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। जबकि कार्यालयले चालु आर्थिक वर्षका लागि जम्मा ९ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो।

यसरी साढे तीन महिनामै वार्षिक लक्ष्यभन्दा २ अर्ब ४५ करोड ४७ लाख रुपैयाँ बढी राजस्व संकलन भएको छ।

भन्सार कार्यालयका अनुसार उक्त अवधिमा कोरला नाकाबाट २६ अर्ब १ करोड २३ लाख रुपैयाँ बराबरका वस्तु आयात भएका छन् भने नेपालबाट २८ करोड ६३ लाख रुपैयाँ बराबरका सामग्री चीनतर्फ निर्यात भएका छन्।

गत आर्थिक वर्षभरि ६ अर्ब ९२ करोड रुपैयाँ राजस्व संकलन गरेको मुस्ताङ भन्सारले यस वर्ष चाडपर्वको समयमा उल्लेख्य व्यापारिक कारोबार गरेको छ। दशैँअघि असोज २७ गतेसम्म ८ अर्ब ३२ करोड ८३ लाख रुपैयाँ राजस्व संकलन भएकामा दशैँपछिको १५ दिनमै थप ३ अर्ब १२ करोड ६४ लाख रुपैयाँ उठेको छ।

कोरला नाका अहिले परम्परागत वस्तुको आयातमा मात्र सीमित छैन। चीनबाट नेपाल भित्रिने विद्युतीय सवारीसाधन (ईभी) को प्रमुख प्रवेशद्वारका रूपमा समेत यसको प्रयोग बढेको छ।

साउनदेखि कात्तिक १३ गतेसम्म विभिन्न कम्पनीका ६ हजार ५०१ वटा विद्युतीय सवारीसाधन कोरला नाका हुँदै भन्सार जाँचपास भएका छन्। असोज २७ गतेसम्म ३ हजार ९२६ वटा ईभी भित्रिएकामा त्यसपछिको १५ दिनमा मात्रै थप २ हजार ५७५ वटा जाँचपास भएका हुन्।

यस नाकाबाट तयारी पोसाक, कस्मेटिक सामग्री, इलेक्ट्रोनिक उपकरण, औद्योगिक कच्चा पदार्थ, खाद्यान्न, फलफूल तथा चाडपर्व लक्षित सामग्रीसमेत आयात भइरहेका छन्।

रसुवागढी र तातोपानी नाकामा प्राकृतिक विपद्का कारण आवागमन प्रभावित भएपछि धेरै व्यापारीले कोरला नाकालाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न थालेका छन्। समथर भूभाग र तुलनात्मक रूपमा सहज पहुँचका कारण पनि यस नाकाप्रति व्यवसायीको आकर्षण बढेको देखिन्छ।

तर व्यापारिक गतिविधि बढ्दै गए पनि मुस्ताङ भन्सारको भौतिक पूर्वाधार, सुक्खा बन्दरगाह निर्माण तथा सडक स्तरोन्नतिको काम अपेक्षाअनुसार अघि बढ्न सकेको छैन। उच्च हिमाली क्षेत्रको प्रतिकूल मौसमका कारण वर्षभरि नियमित व्यापार सञ्चालन गर्नु पनि चुनौतीपूर्ण छ।

कोरला नाकाबाट बढ्दो व्यापारिक सम्भावनालाई दीर्घकालीन रूपमा उपयोग गर्न आधुनिक सुक्खा बन्दरगाह निर्माण, भन्सार प्रणालीको आधुनिकीकरण र जोमसोम–कोरला सडकको स्थायी स्तरोन्नतिमा सरकारले प्राथमिकता दिनुपर्ने देखिन्छ।

सम्बन्धित समाचार