वर्षाले लुम्बिनी र चितवनको खेल रद्द, दुवै टोलीले पाए एक–एक अंक

890 Shares

काठमाडौँ । लगातारको वर्षाका कारण नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार लुम्बिनी लायन्स र चितवन राइनोजबीच हुने भनिएको खेल रद्द भएको छ। खेल हुन नसकेपछि दुवै टोलीले एक–एक अंक बाँडेका छन्।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो १२ः३० बजे खेल सुरु हुने तालिका थियो। तर, निरन्तरको वर्षाका कारण मैदानमा पानी जम्नुका साथै खेल सञ्चालन गर्न आवश्यक अवस्था नबनेपछि खेल रद्द गर्ने निर्णय गरिएको हो।

बिहीबार रातिदेखि सुरु भएको वर्षा शुक्रबार र शनिबार पनि निरन्तर जारी रहेपछि मैदान हिलाम्मे बनेको थियो। मैदानमा पानी जमेकाले खेल सञ्चालनका लागि आवश्यक तयारीसमेत प्रभावित भएको थियो।

नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले वर्षाका कारण मैदानको अवस्था खेल सञ्चालन गर्न अनुकूल नरहेको बताएका थिए।

एनपीएलको नियमअनुसार वर्षाका कारण खेल हुन नसके दुवै टोलीलाई एक–एक अंक प्रदान गरिन्छ। सोही व्यवस्थाअनुसार लुम्बिनी र चितवनले अंक बाँडेका हुन्।

यससँगै दुवै टोलीको अंकतालिकामा एक–एक अंक थपिएको छ। प्रतियोगितामा दुवै टोलीले यसअघि आफ्नो पहिलो खेलमा जित हासिल गरेका थिए।

शनिबारकै दोस्रो खेलमा विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुने तालिका पनि वर्षाका कारण प्रभावित भएको छ। लगातारको वर्षाले कीर्तिपुर मैदानको अवस्था बिग्रिएपछि दोस्रो खेलसमेत सञ्चालन हुन नसकेको हो।

यसअघि वर्षाका कारण खेल हुन नसके टिकट काटेका दर्शकको रकम फिर्ता गर्ने वा अर्को खेल हेर्न दिने विषयमा समेत छलफल भइरहेको जनाइएको थियो।

सम्बन्धित समाचार