कर्णालीमा जडीबुटी निकासीबाट चार करोड १७ लाख रुपैयाँ राजस्व संकलन

1k Shares

सुर्खेत । कर्णाली प्रदेश सरकारले गत आर्थिक वर्षमा जडीबुटी निकासीबाट चार करोड १७ लाख ६८ हजार ९९९ रुपैयाँ राजस्व संकलन गरेको छ। प्रदेशबाट बिक्री भएका ५८ प्रजातिका जडीबुटी निकासीबापत उक्त राजस्व संकलन भएको हो।

कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार गत आर्थिक वर्षमा संकलन गरिएको कुल जडीबुटीमध्ये १९ लाख ४६ हजार ८७५ दशमलव ७०५ किलोग्राम जडीबुटी प्रदेशबाट बाहिर निकासी गरिएको थियो। उक्त अवधिमा कुल २१ लाख ५८ हजार ५८२ दशमलव ९४५ किलोग्राम जडीबुटी संकलन भएको मन्त्रालयले जनाएको छ।

 

झ्याउबाट सबैभन्दा बढी राजस्व

मन्त्रालयका सूचना अधिकारी महेश नेपालीका अनुसार प्रतिकिलोग्राम ५० रुपैयाँ राजस्व दर निर्धारण गरिएको झ्याउ निकासीबाट ९५ लाख ८५ हजार ४०० रुपैयाँ राजस्व संकलन भएको छ। यस अवधिमा एक लाख ८१ हजार ६०९ किलोग्राम झ्याउ निकासी गरिएको थियो।

त्यस्तै, ९६ हजार ७९२ किलोग्राम जटामसी निकासीबाट ८७ लाख ८८ हजार ८७५ रुपैयाँ राजस्व संकलन भएको छ। जटामसीमा प्रतिकिलोग्राम ७५ रुपैयाँ राजस्व दर तोकिएको छ।

यसैगरी, २५१ किलोग्राम ६५६ ग्राम यार्सागुम्बा निकासीबाट ७५ लाख ४४ हजार ३७१ रुपैयाँ राजस्व प्राप्त भएको छ। यार्सागुम्बाको प्रतिकिलोग्राम राजस्व दर ३१ हजार रुपैयाँ निर्धारण गरिएको छ।

 

टिमुर, सिलाजित र अन्य जडीबुटीबाट पनि आम्दानी

मन्त्रालयका अनुसार ३४ हजार ४४५ किलोग्राम कटुसी निकासीबाट २३ लाख ८१ हजार ६८० रुपैयाँ राजस्व संकलन भएको छ। त्यस्तै, ४१ हजार ७३२ किलोग्राम सेतक चिनी बिक्रीबाट २० लाख ४६ हजार ५७५ रुपैयाँ राजस्व प्राप्त भएको छ।

त्यसैगरी, टिमुरबाट १९ लाख ३९ हजार ४०० रुपैयाँ, सिलाजितबाट नौ लाख ७७ हजार ८५० रुपैयाँ, सुगन्धवालबाट नौ लाख ५० हजार ५८० रुपैयाँ र रिठ्ठाबाट नौ लाख ४७ हजार ८३८ रुपैयाँ राजस्व संकलन भएको सूचना अधिकारी नेपालीले जानकारी दिएका छन्।

 

कर्णाली प्रदेश जडीबुटी उत्पादन तथा संकलनका दृष्टिले सम्भावनायुक्त क्षेत्र मानिन्छ। यहाँका हिमाली तथा पहाडी जिल्लामा पाइने बहुमूल्य जडीबुटीले स्थानीय बासिन्दाको आयआर्जनमा समेत महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन्।

जडीबुटीको व्यवस्थित संकलन, प्रशोधन र बजारीकरण गर्न सके प्रदेशको आम्दानी थप बढाउन सकिने देखिन्छ। स्थानीयस्तरमै प्रशोधन उद्योग स्थापना र उचित बजार व्यवस्थापन गर्न सके जडीबुटी व्यवसायबाट किसान तथा संकलकले समेत बढी लाभ लिन सक्नेछन्।

सम्बन्धित समाचार