मुस्ताङ । प्राकृतिक विपत्ति र सडक अवरोधका कारण हिमाली जिल्ला मुस्ताङको पर्यटन व्यवसाय प्रभावित भएको छ। चालु आर्थिक वर्षको पहिलो तीन महिनामा मुस्ताङ आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या गत वर्षको सोही अवधिको तुलनामा ४१ दशमलव ५२ प्रतिशतले घटेको छ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार गत आर्थिक वर्षको साउनदेखि असोजसम्म एक लाख १८ हजार ६८५ जना पर्यटक मुस्ताङ पुगेका थिए। तर चालु आर्थिक वर्षको सोही अवधिमा यो सङ्ख्या घटेर ६९ हजार ४०३ मा सीमित भएको छ।
प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ईश्वर महतका अनुसार चालु वर्षको साउनमा ३० हजार ५३४, भदौमा २० हजार २६८ र असोजमा १८ हजार ६०१ जना पर्यटक मुस्ताङ पुगेका छन्। गत वर्ष असोज महिनामा मात्रै ७५ हजार ५९९ जना पर्यटक पुगेका थिए।
गत भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी तथा असोज ११ गतेको भारी वर्षाका कारण बेनी–जोमसोम सडक लामो समय अवरुद्ध हुँदा पर्यटक आगमन प्रभावित भएको हो।
बाढी, पहिरो र नदी कटानका कारण कालीगण्डकी करिडोरअन्तर्गत विभिन्न स्थानमा सडक क्षतिग्रस्त भएका थिए। बेनी–जोमसोम सडक दुई साताभन्दा बढी पूर्ण रूपमा अवरुद्ध हुँदा पर्यटकले स्थलमार्गबाट मुस्ताङ पुग्न कठिनाइ भोग्नुपरेको थियो।
सडक अवरुद्ध भएका बेला सीमित पर्यटक मात्रै पोखरा–जोमसोम हवाईमार्गबाट मुस्ताङ पुगेका थिए। सडक मर्मत गरेर सञ्चालनमा ल्याइए पनि यात्रा अझै सहज हुन नसकेको स्थानीय अधिकारीहरूले बताएका छन्।
मुस्ताङमा प्रत्येक वर्ष असोज र कात्तिक महिनामा पर्यटकको चहलपहल उल्लेख्य हुने गर्छ। मुक्तिनाथ दर्शन, लोमान्थाङ, कोरला नाका, कागबेनी, जोमसोम तथा विभिन्न पदयात्रा मार्गमा पर्यटकको भीड लाग्ने समयमा यस वर्ष भने अपेक्षाअनुसार पर्यटक आउन नसक्दा पर्यटन व्यवसाय प्रभावित भएको छ।
मुक्तिनाथ होटल एसोसिएसनका अध्यक्ष सुरज गुरुङले प्राकृतिक विपत्ति र यातायात समस्याका कारण पर्यटन क्षेत्रमा अपेक्षित सुधार हुन नसकेको बताएका छन्। पर्यटकको सङ्ख्या घट्दा होटल, रेस्टुरेन्ट, यातायात तथा पर्यटनमा निर्भर अन्य व्यवसायसमेत प्रभावित भएका छन्।
यद्यपि, दसैँपछि मुस्ताङमा पर्यटकको आगमन क्रमशः बढ्न थालेको छ। दसैँ टीकापछि दुई दिनमै ७ हजार ८४६ जना पर्यटक मुस्ताङ पुगेका थिए। त्यसैगरी, दसैँको घटस्थापनादेखि विजयादशमीसम्म बेनी–जोमसोम सडक हुँदै ५ हजार ६६३ जना पर्यटक जिल्ला प्रवेश गरेका थिए।
यसैगरी, थोरङ्ला पास हुँदै पछिल्लो दुई सातामा ७७२ जना विदेशी पर्यटक मुस्ताङ पुगेको तथ्याङ्क छ। यसले पदयात्रा तथा धार्मिक पर्यटनमा केही सुधार देखिएको संकेत गरेको छ।
प्राकृतिक सौन्दर्य, हिमाली दृश्य, धार्मिक तथा सांस्कृतिक सम्पदाले परिचित मुस्ताङको पर्यटन पुनः चलायमान बनाउन सडक पूर्वाधारको सहजता र सुरक्षित यातायात व्यवस्था महत्वपूर्ण देखिएको छ। पर्यटन व्यवसायीले आगामी तिहार तथा छठ पर्वको समयमा पर्यटक आगमन बढ्ने अपेक्षा गरेका छन्।