भुटानमा हिमताल विस्फोटपछि बाढी, भारतका पश्चिम बंगाल र असममा रेड अलर्ट

1.1k Shares

काठमाडौं । छिमेकी मुलुक भुटानमा हिमताल विस्फोट भएपछि आएको आकस्मिक बाढीले ठूलो क्षति पुर्‍याएको छ। बाढीको जोखिम बढेपछि भारतका पश्चिम बंगाल र असमका विभिन्न क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ। नदी आसपासका बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सर्न आग्रह गरिएको छ।

भुटानको उत्तरी गासा जिल्लास्थित शिन्ताफु (Shintaphu) हिमतालमा बिहीबार साँझ विस्फोट भएपछि बाढी आएको हो। हिमतालबाट निस्किएको पानी तीव्र गतिमा नदीतर्फ बगेपछि आसपासका भौतिक संरचनामा क्षति पुगेको छ।

बाढीले भुटानको लोकप्रिय पर्यटकीय क्षेत्र गासा त्साचुस्थित तातोपानी कुण्डका संरचनामा क्षति पुर्‍याएको छ। त्यस्तै, लाया क्षेत्र जोड्ने सडकको केही भाग बगाएको छ भने केही पुलसमेत बगाएको आशंका गरिएको छ। बाढीका कारण उक्त क्षेत्रको सडक यातायात अवरुद्ध भएको छ।

भारतका सीमावर्ती क्षेत्रमा सतर्कता

भुटानबाट बगेको बाढीको पानी भारततर्फ प्रवेश गर्न सक्ने जोखिम बढेपछि पश्चिम बंगाल र असमका विभिन्न जिल्लामा सतर्कता अपनाइएको छ। विशेषगरी पश्चिम बंगालको अलिपुरद्वार, कुचबिहार, जलपाइगुडी तथा असमको धुब्री जिल्लामा बाढीको सम्भावित जोखिमलाई ध्यानमा राखेर प्रशासनले तयारी थालेको छ।

भारतका अधिकारीहरूले सान्कोस नदी आसपासका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेका छन्। नदीको जलस्तरमा अचानक वृद्धि हुन सक्ने भएकाले नदी किनारका बस्तीलाई विशेष निगरानीमा राखिएको छ।

पश्चिम बंगालको अलिपुरद्वार क्षेत्रमा मात्रै हजारौँ मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। प्रहरी अधिकारीका अनुसार करिब ४ देखि ५ हजार मानिसलाई विद्यालयमा बनाइएका अस्थायी आश्रयस्थलमा राखिएको छ भने अन्य ६ हजारभन्दा बढीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।

सम्भावित विपद् व्यवस्थापनका लागि राष्ट्रिय विपद् प्रतिकार्य बल (एनडीआरएफ), राज्य विपद् प्रतिकार्य बल (एसडीआरएफ), प्रहरी तथा अन्य सुरक्षा निकाय परिचालन गरिएको छ। प्रभावित हुन सक्ने क्षेत्रमा खाद्यान्न, खानेपानी र अन्य अत्यावश्यक सामग्रीको व्यवस्था पनि गरिएको छ।

बाढीको तीव्रता केही घटे पनि जोखिम कायमै

प्रारम्भिक विवरणअनुसार हिमताल विस्फोटबाट निस्किएको पानीको बहाव केही समयपछि कम हुँदै गएको बताइएको छ। यद्यपि सान्कोस नदी प्रणालीमा रेड अलर्ट कायम राखिएको छ।

भुटानका अधिकारीहरूले नदीको जलस्तर निगरानी गरिरहेका छन्। बाढीले पुर्‍याएको पूर्ण क्षतिको विवरण भने तत्काल सार्वजनिक हुन सकेको छैन।

हालसम्म बाढीका कारण मानवीय क्षति भएको विवरण प्राप्त भएको छैन। प्रभावित क्षेत्रका बासिन्दालाई अनावश्यक त्रासमा नपर्न तर प्रशासनको निर्देशन पालना गर्दै सुरक्षित रहन आग्रह गरिएको छ।

के हो हिमताल विस्फोटबाट आउने बाढी ?

हिमनदी पग्लिएर बनेको तालमा जम्मा भएको पानी प्राकृतिक बाँध फुट्दा वा कमजोर हुँदा एकैपटक तीव्र गतिमा बाहिर निस्कने घटनालाई हिमताल विस्फोटजन्य बाढी (ग्लेसियल लेक आउटबर्स्ट फ्लड–ग्लोफ) भनिन्छ।

यस्तो बाढीले नदीको बहाव एकाएक बढाउने, बस्ती डुबाउने तथा सडक, पुल, जलविद्युत् आयोजना र अन्य भौतिक संरचनामा ठूलो क्षति पुर्‍याउन सक्छ।

हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण हिमनदी पग्लिने क्रम बढ्दै जाँदा यस्ता जोखिमप्रति नेपालसहित हिमाली मुलुकहरू पनि थप सचेत हुनुपर्ने देखिएको छ।

सम्बन्धित समाचार