कुपण्डोलमा दुई अर्ब ८५ करोडको लागतमा हायात प्लेस होटल बन्दै, सन् २०२८ देखि सञ्चालन गर्ने लक्ष्य

1.4k Shares

काठमाडौँ । ललितपुरको कुपण्डोलमा अन्तर्राष्ट्रिय होटल ब्रान्ड हायात प्लेसको पाँचतारे होटल निर्माण भइरहेको छ। सायन होटल्स प्रालिले निर्माण गरिरहेको १०५ कोठाको उक्त होटल सन् २०२८ अप्रिलको मध्यदेखि सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ।

अनिशा अग्रवाल र गणेश अग्रवालको समान लगानी रहेको कम्पनीका अनुसार सन् २०२६ सेप्टेम्बर २१ सम्म होटल निर्माणको करिब ४८ प्रतिशत काम सम्पन्न भएको छ। बाँकी निर्माण कार्य सन् २०२७ अक्टोबरको मध्यसम्म पूरा गर्ने योजना छ। अन्तर्राष्ट्रिय ब्रान्डका मापदण्ड पूरा गर्नुपर्ने र सञ्चालनपूर्व आवश्यक तयारी गर्नुपर्ने भएकाले होटलले व्यावसायिक सेवा सुरु गर्न भने थप समय लाग्ने अनुमान गरिएको छ।

यसअघि होटल सन् २०२७ जुलाईको मध्यदेखि सञ्चालनमा ल्याउने योजना बनाइएको थियो। तर, निर्माण तथा सञ्चालनपूर्वका तयारीलाई ध्यानमा राख्दै समयतालिका परिमार्जन गरिएको हो।

दुई अर्ब ८५ करोडभन्दा बढी लागत अनुमान

परियोजनाको संशोधित कुल लागत दुई अर्ब ८५ करोड ७० लाख रुपैयाँ अनुमान गरिएको छ। यो यसअघिको अनुमानभन्दा करिब चार प्रतिशत कम हो। यद्यपि, निर्माण सामग्रीको मूल्य वृद्धि, अमेरिकी डलर तथा चिनियाँ युआनको तुलनामा नेपाली रुपैयाँ कमजोर हुनु र निर्माण अवधि लम्बिनुले अन्तिम लागत बढ्न सक्ने जोखिम रहेको कम्पनीले जनाएको छ।

करिब १५ हजार ५७ वर्गफिट क्षेत्रफलको जग्गामा निर्माण भइरहेको होटलमा सुरुमा ११२ कोठा बनाउने योजना थियो। पछि योजनामा परिमार्जन गर्दै कोठाको सङ्ख्या १०५ कायम गरिएको हो। सन् २०२१ सेप्टेम्बरमा स्थापना भएको सायन होटल्सले यस परियोजनालाई अघि बढाएको हो।

होटल परियोजनाको लागतमा जग्गा खरिदले ठूलो हिस्सा ओगटेको छ। कम्पनीका अनुसार हालसम्मको वित्तीय प्रगतिमा जग्गा खरिदको खर्चले मात्रै करिब १७ प्रतिशत योगदान गरेको छ। कुपण्डोलमा जग्गा खरिद गर्नुपरेका कारण प्रतिकोठा लागत करिब दुई करोड ७० लाख रुपैयाँ पुगेको छ। यसमा क्यासिनो तथा भोजभतेर आयोजना गर्न मिल्ने सभाहल निर्माणको खर्चसमेत समावेश छ।

दुई अर्ब रुपैयाँ ऋण, स्वपुँजी लगानी पनि बढ्दै

परियोजना निर्माणका लागि सायन होटल्सले दुई अर्ब रुपैयाँ ऋण लिएको छ। यसअघि दुई अर्ब पाँच करोड रुपैयाँ ऋण लिने प्रस्ताव गरिएको थियो। परियोजनाको कुल लागतको करिब ७० प्रतिशत रकम ऋणबाट जुटाउने योजना रहेको छ।

कम्पनीका अनुसार परियोजनाका लागि आवश्यक ऋणको व्यवस्था पूरा भइसकेको छ। यसअघि आवश्यक ऋणको करिब ३९ प्रतिशत रकमको मात्र व्यवस्था भएको थियो। त्यसैगरी, प्रवर्द्धकहरूले हालसम्म आवश्यक स्वपुँजीको करिब ३२ प्रतिशत लगानी गरिसकेका छन्। यसअघि यस्तो लगानी करिब १७ प्रतिशत मात्र थियो।

कम्पनीमा अनिशा अग्रवाल र गणेश अग्रवालको समान ५०–५० प्रतिशत स्वामित्व रहेको छ।

होटल सञ्चालनपछि आम्दानी र प्रतिस्पर्धा मुख्य चुनौती

परियोजनामा ऋणको हिस्सा ठूलो रहेकाले होटल सञ्चालनमा आएपछि अपेक्षाअनुसार आम्दानी हुन नसके वित्तीय दबाब बढ्न सक्ने देखिन्छ। आम्दानी कमजोर भएमा ऋणको साँवा र ब्याज भुक्तानीमा कठिनाइ उत्पन्न हुन सक्छ।

होटल सञ्चालनका क्रममा कर्मचारीको तलब, भवनको मर्मतसम्भार, ऊर्जा तथा अन्य व्यवस्थापकीय खर्च नियमित रूपमा व्यहोर्नुपर्ने हुन्छ। त्यसैले कोठा उपयोग दर घटेमा वा आम्दानी अनुमानभन्दा कम भएमा नाफा र नगद प्रवाहमा असर पर्न सक्छ।

अन्तर्राष्ट्रिय ब्रान्डको पहिचान र उपलब्ध सुविधाका आधारमा ग्राहक आकर्षित गर्ने कम्पनीको अपेक्षा छ। तर, बजारमा पहिलेदेखि सञ्चालनमा रहेका होटल तथा आगामी दिनमा थपिने प्रतिस्पर्धीबीच आफ्नो स्थान स्थापित गर्नु पनि कम्पनीका लागि महत्त्वपूर्ण चुनौती हुनेछ।

निर्माण लागतमा सम्भावित वृद्धि, उच्च ऋणभार र बजार प्रतिस्पर्धाका बीच निर्धारित समयमै निर्माण सम्पन्न गरी होटल सञ्चालनमा ल्याउनु सायन होटल्सको प्रमुख लक्ष्य बनेको छ।

सम्बन्धित समाचार