काठमाडौँ । साउदी अरबको पछिल्लो सुरक्षा अवस्थालाई मध्यनजर गर्दै रियादस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
दूतावासले सूचना जारी गर्दै साउदी अरबका आधिकारिक निकायबाट जारी गरिएका सुरक्षा निर्देशन अनिवार्य रूपमा पालना गर्न, अपुष्ट समाचार तथा तस्बिर सामाजिक सञ्जालमा सेयर नगर्न र विशेष सुरक्षा चेतावनी जारी भएका बेला बाहिर ननिस्कन अनुरोध गरेको हो।
त्यस्तै, साउदी अरबबाट नेपाल वा अन्य देशमा हवाई यात्रा गर्नुअघि उडान तालिकामा कुनै परिवर्तन भए–नभएको सम्बन्धित वायुसेवा कम्पनी वा आधिकारिक स्रोतबाट यकिन गर्न पनि दूतावासले आग्रह गरेको छ।
दूतावासले आवश्यक सहयोग तथा जानकारीका लागि रियादस्थित नेपाली राजदूतावास वा जेद्दास्थित नेपाली महावाणिज्यदूतावासमा सम्पर्क गर्न सकिने जनाएको छ।
नेपाली राजदूतावास, रियाद
नेपाली महावाणिज्यदूतावास, जेद्दा
दूतावासले साउदी अरबमा रहेका नेपाली नागरिकलाई सुरक्षा अवस्थाबारे आधिकारिक स्रोतबाट जानकारी लिन, अनावश्यक हल्ला फैलिन नदिन र सम्भावित जोखिमबाट जोगिन सचेत रहन आग्रह गरेको छ।