काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणको उद्घाटन समारोहमा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदान पुगेका छन्। प्रतियोगिताको उद्घाटन सोमबार हुँदैछ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा सुरु भएको प्रतियोगितामा आठ फ्रेन्चाइजी टोलीले प्रतिस्पर्धा गर्दैछन्। एनपीएलले छोटो समयमै नेपाली क्रिकेटको लोकप्रियता बढाउँदै ठूलो खेलकुद उत्सवको रूप लिएको छ।
प्रधानमन्त्री शाहले प्रतियोगिता सुरु हुनुअघि सामाजिक सञ्जालमार्फत नेपाली क्रिकेटलाई शुभकामना दिएका थिए। उनले एनपीएललाई नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिताका रूपमा उल्लेख गर्दै प्रतियोगितामा सहभागी अन्तर्राष्ट्रिय खेलाडी, कमेन्टेटर, नेपाली खेलाडी, आयोजक तथा क्यानलाई सफलताको शुभकामना दिएका छन्।
एनपीएलको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र अघिल्लो संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। खेल अपराह्न साढे ४ बजे सुरु हुने तालिका छ।
प्रतियोगितामा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्ससँगै जनकपुर बोल्ट्स, काठमाडौं गोर्खाज, चितवन राइनोज, विराटनगर किङ्स, पोखरा एभेन्जर्स र कर्णाली याक्स सहभागी छन्। तेस्रो संस्करण नोभेम्बर २१ सम्म सञ्चालन हुनेछ