एनपीएललाई शुभकामना दिँदै प्रधानमन्त्री बालेनले भने, ‘नेपाली क्रिकेट अमर रहोस्’

1.1k Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण सुरु हुन लागेको अवसरमा नेपाली क्रिकेटलाई शुभकामना दिएका छन् । उनले एनपीएल केही वर्षमै नेपालको ठूलो खेलकुद उत्सवका रूपमा विकसित भएको बताएका छन् ।

 
 

प्रधानमन्त्री शाहले सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश दिँदै प्रतियोगितामा सहभागी हुन आएका अन्तर्राष्ट्रिय खेलाडी तथा कमेन्टेटरलाई स्वागत गरेका छन् । साथै उनले नेपाली खेलाडी, आयोजक र नेपाल क्रिकेट संघ (क्यान) लाई प्रतियोगिता सफल बनाउन शुभकामना दिएका छन् ।

उनले लेखेका छन्, ‘नेपालको सबैभन्दा ठूलो खेलकुद आयोजना नेपाल प्रिमियर लिग आजदेखि सुरु हुँदैछ । केही वर्षमै यो ठूलो खेलकुद उत्सवका रूपमा विकसित भएको छ ।’

प्रधानमन्त्री शाहले एनपीएलमा सहभागी हुन आएका सबै अन्तर्राष्ट्रिय खेलाडी र कमेन्टेटरलाई हार्दिक स्वागत गर्दै नेपाली खेलाडी, आयोजक तथा क्यानलाई प्रतियोगिताको सफलताका लागि शुभकामना दिएका छन् ।

उनले आफ्नो सन्देशको अन्त्यमा ‘नेपाली क्रिकेट अमर रहोस्’ भन्दै नेपाली क्रिकेटको विकास र विस्तारप्रति शुभेच्छा व्यक्त गरेका छन् ।

 
 

आजदेखि एनपीएलको तेस्रो संस्करण

नेपाल प्रिमियर लिगको तेस्रो संस्करण सोमबारदेखि काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री शाहले गर्ने कार्यक्रम छ ।

उद्घाटन खेलमा गत संस्करणको विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । खेल अपराह्न ४ः३० बजे सुरु हुने तालिका छ ।

प्रतियोगितामा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्ससहित जनकपुर बोल्ट्स, काठमाडौं गोर्खाज, चितवन राइनोज, विराटनगर किङ्स, पोखरा एभेन्जर्स र कर्णाली याक्स गरी आठ फ्रेन्चाइज टोली सहभागी हुँदैछन् ।

 
 

एनपीएलले नेपाली क्रिकेटको व्यावसायिक विकास, खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर र अन्तर्राष्ट्रिय स्तरमा नेपालको क्रिकेट पहिचान विस्तारमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचार