भिडियो सार्वजनिक गर्ने धम्की दिई रकम असुल्न खोज्ने चार जना पक्राउ

939 Shares

गौशाला (महोत्तरी) । बालिका र युवकमाथि दुर्व्यवहार गरी बनाइएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरिदिने धम्की दिँदै रकम असुल्न खोजेको आरोपमा धनुषा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–२० का २३ वर्षीय सुकन महतो, २६ वर्षीय सन्तोषकुमार दास, २२ वर्षीय पनेशकुमार महतो र ३० वर्षीय सुजित महतो रहेका छन्।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी निरीक्षक ओमप्रकाश खनालका अनुसार प्रारम्भिक अनुसन्धानमा आरोपितहरूले एक बालिका र एक युवकमाथि दुर्व्यवहार गरी भिडियो बनाएको खुलेको छ। उक्त भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरिदिने भन्दै पीडितका अभिभावकलाई धम्क्याएर मोबाइल बैंकिङमार्फत छ हजार रुपैयाँसमेत स्थानान्तरण गर्न लगाएको प्रहरीले जनाएको छ।

घटनाबारे सूचना प्राप्त भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। सोही क्रममा आरोपित चारै जनालाई पक्राउ गरिएको हो। प्रहरीले उनीहरूको साथबाट ज १२ प ७७७७ र मधेश प्रदेश ०२–०१ प २९०२ नम्बरका दुई मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ।

पक्राउ परेका चारै जनामाथि आपराधिक लाभ लिन नहुने तथा बाल यौनदुरुपयोगसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

सम्बन्धित समाचार