काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही गर्न सकिने संकेत दिएका छन् । आवश्यक परे इरानको सम्पूर्ण तेल कब्जा गर्नेदेखि पूरै देशलाई नियन्त्रणमा लिनेसम्मका विकल्प अमेरिकासँग रहेको उनको दाबी छ ।
शुक्रबार फ्लोरिडामा आयोजित एक कार्यक्रममा सहभागी हुन ह्वाइट हाउसबाट निस्कने क्रममा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरान अहिले कमजोर अवस्थामा रहेको बताएका हुन् ।
‘इरानले अहिले खासै केही गर्न सक्ने अवस्थामा छैन । हामीले चाह्यौँ भने त्यहाँको सबै तेल कब्जा गर्न सक्छौँ,’ ट्रम्पले भने, ‘हामी पूरै देश नै कब्जा गर्न सक्छौँ ।’
इरानसँगको द्वन्द्व अझै एक वर्षसम्म लम्बिन सक्ने संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत माइक वाल्ट्जको भनाइबारे सोधिएको प्रश्नमा ट्रम्पले द्वन्द्व छिट्टै अन्त्य गर्न सकिने प्रतिक्रिया दिए ।
उनका अनुसार अबको मुख्य प्रश्न युद्ध अन्त्य गर्ने वा इरानलाई थप कमजोर हुँदै जान दिने भन्ने हो । उनले अमेरिका चाहेमा द्वन्द्व छोटो समयमै टुङ्ग्याउन सक्ने दाबी पनि गरे ।
फ्लोरिडामा आयोजित र्यालीलाई सम्बोधन गर्ने क्रममा ट्रम्पले इरानविरुद्ध अर्को सैन्य अभियान सञ्चालन गर्न सकिने बताएका छन् । उनले ‘एपिक फ्युरी’ नामको अर्को अभियान चलाउन सकिने सङ्केत दिएका हुन् ।
‘एपिक फ्युरी’ अमेरिकाले फेब्रुअरी २८ मा इजरायलसँग समन्वय गर्दै इरानविरुद्ध सञ्चालन गरेको सैन्य कारबाहीसँग सम्बन्धित नाम हो ।
अमेरिका र इजरायलले अमेरिकी मध्यावधि निर्वाचनपछि इरानमाथि पुनः आक्रमण गर्ने योजनाबारे छलफल गरिरहेको भन्ने समाचार सार्वजनिक भइरहेका बेला ट्रम्पको पछिल्लो अभिव्यक्ति आएको हो ।
ट्रम्पको पछिल्लो अभिव्यक्तिले अमेरिका र इरानबीचको तनाव पुनः बढ्न सक्ने सङ्केत गरेको छ । तर, इरानविरुद्ध अर्को सैन्य कारबाही सञ्चालन गर्ने विषयमा ट्रम्पले अन्तिम स्वीकृति दिने वा नदिने भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन ।
अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार सम्भावित सैन्य कारबाहीबारे निर्णय अनिश्चित अवस्थामा छ ।
ट्रम्पको अभिव्यक्तिपछि इरानसँगको द्वन्द्व कुन दिशामा अघि बढ्छ र अमेरिका तथा इजरायलले आगामी दिनमा कस्तो रणनीति अपनाउँछन् भन्ने विषय चासोको केन्द्रमा रहेको छ ।