सप्तरीमा कुटपिट घटनाका दुई जना पक्राउ, तीन जना घाइते

701 Shares

राजविराज । सप्तरीको कञ्चनरूप नगरपालिका–८ मा भएको झैझगडा तथा कुटपिट घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही ठाउँका १९ वर्षीय हिमेश पासमान र १९ वर्षीय श्रीचन्द्र मण्डल रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक विजय कार्कीका अनुसार गत बुधबार राति करिब ९ः१० बजे वडा नम्बर ८ स्थित विद्युत् कार्यालय नजिक झैझगडा हुँदा कुटपिट भएको थियो।

उक्त घटनामा कञ्चनरूप नगरपालिका–८ का १८ वर्षीय राहुल सरवरिया, १९ वर्षीय श्रवण सदा र २८ वर्षीय राजु सदा घाइते भएका छन्। तीनै जनाको टाउकोमा चोट लागेको र उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

घटनाबारे इलाका प्रहरी कार्यालय कञ्चनपुरमा सूचना प्राप्त भएपछि खटिएको प्रहरी टोलीले आरोपित दुवै जनालाई नियन्त्रणमा लिएको हो।

प्रहरीले पक्राउ परेका दुवै जनाविरुद्ध ज्यान मार्ने उद्योगसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी कानुनी कारबाही प्रक्रिया अघि बढाएको छ।

घटनाको कारण र अन्य विवरणबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक कार्कीले जानकारी दिनुभयो।

सम्बन्धित समाचार