काठमाडौँ । नेपालका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतका विदेशमन्त्री डा. एस जयशंकरबीच बदलिँदो विश्व राजनीति, आर्थिक विखण्डन तथा क्षेत्रीय सहकार्यका सम्भावनाबारे छलफल भएको छ।
भारतीय टेलिभिजन च्यानल एनडीटीभीले आयोजना गरेको ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ अन्तर्गत बिहीबार आयोजित ‘द जियोपोलिटिक्स अफ सोभरेन चोइस’ शीर्षकको सत्रमा उनीहरूबीच विश्व व्यवस्थामा आइरहेका परिवर्तन र अन्तर्राष्ट्रिय साझेदारीका विषयमा संवाद भएको हो। सत्रमा जयशंकर प्रमुख वक्ता र वाग्ले अतिथि वक्ताका रूपमा सहभागी थिए।
संवादका क्रममा अर्थमन्त्री वाग्लेले शीतयुद्धपछि अन्तर्राष्ट्रिय व्यापार र अर्थतन्त्रमा बहुपक्षीय सहकार्यलाई प्राथमिकता दिइए पनि पछिल्ला वर्षमा व्यापारिक गुटबन्दी र विश्वव्यापी आर्थिक विखण्डन बढिरहेको उल्लेख गरे। यस्तो अवस्थामा विपद् व्यवस्थापन, पोषण, ऊर्जा तथा स्वच्छ ऊर्जाजस्ता क्षेत्रमा द्विपक्षीय, त्रिपक्षीय र क्षेत्रीय सहकार्यलाई प्रभावकारी बनाउन सकिने उपायबारे उनले जिज्ञासा राखेका थिए।
वाग्लेले बहुध्रुवीय विश्व व्यवस्थामा अन्तर्राष्ट्रिय सहकार्यलाई अघि बढाउन कडा संस्थागत संरचना आवश्यक हुन्छ वा साझेदार राष्ट्रबीचको व्यावहारिक समझदारी पर्याप्त हुन्छ भन्ने विषयमा जयशंकरको धारणा मागेका थिए।
जवाफमा भारतीय विदेशमन्त्री जयशंकरले पछिल्ला दुई दशकमा मुलुकहरू जटिल औपचारिक प्रतिबद्धताभन्दा लचिलो र व्यावहारिक सहकार्यतर्फ आकर्षित हुँदै गएको बताए। उनका अनुसार औपचारिक संरचना निर्माण गर्दा वार्ता, प्रशासनिक प्रक्रिया र नियम निर्धारणमै लामो समय खर्च हुन सक्छ, जसले सहकार्यको मूल उद्देश्यलाई ओझेलमा पार्न सक्छ।
सबै प्रकारका सहकार्यलाई एउटै संस्थागत ढाँचामा राख्न आवश्यक नरहेको उल्लेख गर्दै उनले सहकार्यको स्वरूप विषयवस्तु र साझेदार राष्ट्रको प्रतिबद्धताअनुसार फरक हुन सक्ने बताए। ब्रिक्स (BRICS) को उदाहरण दिँदै उनले छुट्टै सचिवालय वा लिखित बडापत्र नभए पनि यसले सहकार्य गर्दै आएको उल्लेख गरे। उनले ब्रिक्स र साङ्घाई सहयोग संगठन (SCO) को संरचनाबीच भिन्नता रहेको पनि स्पष्ट पारे।
जयशंकरका अनुसार अहिलेको विश्व राजनीति तदर्थ सहकार्य र समान विचारधारा भएका राष्ट्रका समूहहरूतर्फ अघि बढिरहेको छ। भारतले पछिल्लो दशकमा यस्तै प्रकृतिका करिब ५० वटा साना तथा नतिजामुखी समूहमा सहकार्य विस्तार गरेको उनले जानकारी दिए।
संवादका क्रममा अर्थमन्त्री वाग्लेले नेपालले विपद्का बेला भारतबाट प्राप्त गर्दै आएको सहयोगको प्रशंसा गरे। सन् २०१५ को विनाशकारी भूकम्प तथा हालै रसुवा–भोटेकोशी क्षेत्रमा भएको विपद्का बेला भारतले उद्धार र राहतमा छिटो सहयोग उपलब्ध गराएको उल्लेख गर्दै उनले त्यसप्रति नेपालको कृतज्ञता व्यक्त गरे।
नेपाल र भारतबीचको भौगोलिक निकटता तथा साझा चुनौतीले विपद् व्यवस्थापन, ऊर्जा, व्यापार र अन्य विकासका क्षेत्रमा सहकार्यको सम्भावना बढाएको उनको भनाइ थियो।
दुई देशका प्रतिनिधिबीच भएको यस संवादले बदलिँदो विश्व व्यवस्थामा व्यावहारिक कूटनीति, क्षेत्रीय साझेदारी र परिणाममुखी सहकार्यको महत्त्वलाई उजागर गरेको छ। एनडीटीभी वर्ल्ड समिट २०२६ अक्टोबर २२ र २३ मा भारतको नयाँदिल्लीमा आयोजना गरिएको हो।