एजेन्सी । जलवायु परिवर्तनका कारण स्विट्जरल्यान्डका हिमनदी तीव्र गतिमा पग्लिन थालेपछि वर्षौँदेखि बरफभित्र सुरक्षित रहेका ऐतिहासिक वस्तु तथा वातावरणीय परिवर्तनका महत्त्वपूर्ण प्रमाण बाहिर आउन थालेका छन्। यस्ता सामग्रीको संरक्षण र अध्ययन गर्ने उद्देश्यले लुसर्नस्थित ग्लेसियर गार्डेनले ‘ट्रेजरी अफ आइस’ अर्थात् ‘बरफको खजाना’ नामक विशेष प्रदर्शनी आयोजना गरेको छ।
प्रदर्शनीमा प्राचीन सिकारीले प्रयोग गर्ने धनुष, रोमनकालीन मूर्ति, पर्वतारोहीको फुटेको हेल्मेट, गाईको खप्पर, पुराना जुत्ता, स्विस सेनाले प्रयोग गर्ने परम्परागत चक्कु र स्कीका सामग्री राखिएका छन्। त्यस्तै, मेयोनेजको खाली ट्युब र फ्याँकिएको वाइनको बोतलजस्ता आधुनिक समयमा प्रयोग गरिएका वस्तु पनि प्रदर्शनमा समावेश छन्।
स्विस हिमनदीविद्हरूका अनुसार यस वर्ष देशका हिमनदीको कुल क्षेत्रफल ५.५ प्रतिशतले घटेको छ। अभिलेख राख्न थालिएयताका वर्षमध्ये यो दोस्रो ठूलो गिरावट हो।
हिमनदी तीव्र गतिमा पग्लिँदै जाँदा त्यहाँ सुरक्षित रहेका ऐतिहासिक सामग्री र वातावरणीय प्रमाण हराउने जोखिम बढेको छ। यही अवस्थालाई ध्यानमा राखेर प्रदर्शनी आयोजना गरिएको ग्लेसियर गार्डेनका निर्देशक आन्द्रेयास बुरीले बताएका छन्।
उनका अनुसार हिमनदी पूर्ण रूपमा हराउनुअघि त्यहाँबाट प्राप्त महत्त्वपूर्ण तथा रोचक सामग्री सार्वजनिक रूपमा प्रस्तुत गर्नु आवश्यक छ। प्रदर्शनीले हिमनदीको क्षय र त्यससँगै हराउन सक्ने प्राकृतिक तथा ऐतिहासिक अभिलेखबारे मानिसलाई जानकारी दिने उद्देश्य राखेको छ।
प्रदर्शनीमा राखिएका सबै सामग्री ऐतिहासिक महत्त्वका मात्र छैनन्। केही वस्तु मानिसले हराएका वा फ्याँकेका फोहोरसमेत हुन सक्ने निर्देशक बुरीले बताएका छन्। ती सामग्री हिमनदीमा कसरी पुगे भन्ने विषयमा सबैको स्पष्ट जानकारी नभए पनि तिनले विगतको मानव गतिविधि र हिमाली क्षेत्रमा मानिसको उपस्थितिबारे अध्ययन गर्न सहयोग पुर्याउन सक्छन्।
प्रदर्शनीमा सामग्री सङ्कलन तथा प्रयोगशालासम्म पुर्याउन प्रयोग गरिने सेता बाकसहरूमाथि वस्तुहरू सजाइएको छ। यसले वैज्ञानिक अनुसन्धानका क्रममा सङ्कलित नमुनाहरू सुरक्षित राखिएको गोदामको झल्को दिन्छ।
त्यहाँ हिमनदीबाट निकालिएको बरफको एउटा सिलिन्डरसमेत राखिएको छ, जुन प्रदर्शनीस्थलमै बिस्तारै पग्लिरहेको छ। बरफको यो नमुनाले जलवायु परिवर्तनका कारण प्रकृतिमा भइरहेको तीव्र बदलावलाई प्रत्यक्ष रूपमा देखाउँछ।
हिमनदीले पुराना भौतिक वस्तु मात्र नभई वातावरणीय इतिहासका सूक्ष्म प्रमाणसमेत सुरक्षित राखेका छन्। प्रदर्शनीमा बरफभित्र भेटिएका परागकण, हरितगृह ग्यास र २०औँ शताब्दीको मध्यतिर गरिएका आणविक परीक्षणबाट उत्पन्न रेडियोधर्मी पदार्थका सूक्ष्म कणबारे पनि जानकारी प्रस्तुत गरिएको छ।
त्यसैगरी, करिब ५०० वर्षअघि १६औँ शताब्दीको मध्यतिर खडेरी र असाधारण गर्मीका कारण वनमा लागेको डढेलोबाट उत्पन्न कालो धुवाँका कण तथा कोइलाका अवशेषसमेत बरफमा सुरक्षित रहेको देखाइएको छ।
यस्ता प्रमाणको अध्ययनबाट विगतको तापक्रम, वन डढेलो, चरम मौसमी घटना तथा वातावरणमा भएका परिवर्तनबारे जानकारी प्राप्त गर्न सकिन्छ। यसले जलवायु परिवर्तनको दीर्घकालीन इतिहास बुझ्न वैज्ञानिकहरूलाई सहयोग पुर्याउँछ।
प्रदर्शनीमा मानव अवशेष समावेश गरिएको छैन। तर, हिमनदी पग्लने क्रममा दशकौँअघि बेपत्ता भएका पर्वतारोहीका शव तथा अवशेषसमेत फेला पर्ने गरेका छन्।
गत अगस्टमा लुसर्नको दक्षिणमा रहेको ट्रिफ्ट हिमनदी नजिकै दशकौँअघि बेपत्ता भएका दुई बेल्जियमका पर्वतारोहीका शव फेला परेका थिए। यसअघि सन् २०१५ मा प्रसिद्ध म्याटरहर्न हिमाल नजिकै सन् १९७० मा हराएका दुई जापानी पर्वतारोहीका अवशेष भेटिएका थिए।
यस्ता घटनाले हिमनदीले लामो समयसम्म मानिसका अवशेष तथा अन्य सामग्रीलाई बरफभित्र सुरक्षित राख्न सक्ने देखाउँछन्। तर, बरफ पग्लिँदै जाँदा ती सामग्री बाहिर आउने र समयमै पहिचान तथा संरक्षण गर्न नसकिए नष्ट हुने जोखिमसमेत बढेको छ।
‘बरफको खजाना’ प्रदर्शनीले हिमनदीभित्र सुरक्षित रहेका ऐतिहासिक वस्तु र वातावरणीय प्रमाणमार्फत विगतको मानव गतिविधि तथा प्राकृतिक अवस्थाबारे जानकारी दिने उद्देश्य राखेको छ। साथै, हिमनदीको तीव्र क्षयले पृथ्वीको वातावरणीय इतिहासका महत्त्वपूर्ण प्रमाणसमेत गुम्न सक्ने जोखिमलाई उजागर गरेको छ।
आयोजकका अनुसार प्रदर्शनीमा हिमनदीसम्बन्धी भिडियो, वर्षौँदेखिको हिमनदी पग्लने दरका तथ्याङ्क र हिमनदी कसरी बग्छ भन्ने बुझाउने नमुनासमेत राखिएका छन्। प्रदर्शनी आगामी अगस्ट २२ सम्म सञ्चालन हुनेछ।