लन्डन । बेलायतको राजधानी लन्डनको सबैभन्दा पुरानो रेस्टुरेन्टका रूपमा परिचित ‘रूल्स’ सञ्चालन भइरहेको ऐतिहासिक भवन संरक्षणका लागि नेसनल ट्रस्टलाई दान गरिएको छ। दुई शताब्दीभन्दा लामो इतिहास बोकेको यस भवनलाई दान गरिएसँगै रेस्टुरेन्टको मौलिक स्वरूप र ऐतिहासिक वातावरण भावी पुस्ताका लागि सुरक्षित रहने अपेक्षा गरिएको छ।
सेन्ट्रल लन्डनको कोभेन्ट गार्डेनस्थित ३४–३५ मेडन लेनमा रहेको चारतले भवन पछिल्ला चार दशकदेखि जेपी मेह्यूको स्वामित्वमा थियो। उनले भवनलाई ऐतिहासिक सम्पदाको संरक्षणमा काम गर्दै आएको युरोपको ठूलो संरक्षण परोपकारी संस्था नेसनल ट्रस्टलाई हस्तान्तरण गर्ने निर्णय गरेका हुन्।
यस दानको मूल्य एक करोड १० लाख पाउन्ड अर्थात् करिब एक करोड ४० लाख अमेरिकी डलर रहेको जनाइएको छ। भवनसँगै रेस्टुरेन्टको इतिहास झल्काउने आगन्तुक पुस्तिका, मेनु, कार्टुन, तस्बिर, रङ्गीन सिसा तथा सङ्केतचिह्नलगायत ऐतिहासिक सामग्री पनि ट्रस्टलाई हस्तान्तरण गरिएका छन्।
थोमस रूलले सन् १७९८ मा ‘रूल्स’लाई ओइस्टर बारका रूपमा स्थापना गरेका थिए। फ्रान्सेली क्रान्तिपछि युरोपमा राजनीतिक तथा सामाजिक उथलपुथल चलिरहेका बेला सुरु भएको यो रेस्टुरेन्टले त्यसयताका अनेक ऐतिहासिक परिवर्तन पार गरेको छ।
ब्रिटिस साम्राज्यको समय, दोस्रो विश्वयुद्धका बेला भएको बमबारी तथा भवन भत्काएर सडक विस्तार गर्ने योजनासमेत पार गर्दै रूल्सले आफ्नो अस्तित्व कायम राखेको छ।
रेस्टुरेन्टका पछिल्ला मालिक जेपी मेह्यूले यसको ऐतिहासिक महत्त्वलाई ध्यानमा राखेर संरक्षणको जिम्मेवारी नेसनल ट्रस्टलाई सुम्पिएको बताएका छन्।
“विश्वमा रूल्सजस्ता समयको परीक्षा पार गरेका रेस्टुरेन्ट थोरै छन्,” मेह्यूले भने। उनका अनुसार भवनका इँटा र गारोदेखि प्रसिद्ध आन्तरिक सजावट तथा त्यहाँको विशिष्ट वातावरणसम्म संरक्षण गर्नु आवश्यक छ।
रूल्स आफ्नो परम्परागत बेलायती खानाका लागि मात्र नभई चर्चित व्यक्तित्वहरूको जमघटस्थलका रूपमा पनि परिचित छ। लेखक चाल्र्स डिकेन्स, अभिनेता चार्ली च्याप्लिन, सङ्गीतकार डेभिड बोवी र गायिका म्याडोनालगायत व्यक्तित्वले यहाँ भोजन गरेका थिए।
बेलायतका राजा एडवर्ड सातौँ पनि आफ्ना प्रेमिकाहरूसँग भेटघाट गर्न यहाँ आउने गरेको इतिहास छ। कुनै समय राजा–महाराजा, लेखक र राजनीतिज्ञको जमघट हुने यो स्थान अहिले पनि लन्डनको ऐतिहासिक खानपान संस्कृतिको महत्त्वपूर्ण हिस्सा बनेको छ।
रेस्टुरेन्टमा कवि जोन बेटजेम्यान र लेखक ग्राहम ग्रीनका नाममा छुट्टाछुट्टै कोठा छन्। सन् १९७१ मा तत्कालीन लन्डन प्रशासनले स्ट्र्यान्ड सडक विस्तारका क्रममा रूल्स भत्काउने योजना अघि सारेपछि बेटजेम्यानले यसको ऐतिहासिक वातावरण जोगाउन सार्वजनिक रूपमा अपिल गरेका थिए।
लेखक ग्राहम ग्रीनले आफ्नो उपन्यास ‘द एन्ड अफ द अफेयर’मा समेत रेस्टुरेन्टलाई समेटेका थिए। उनले यहाँ आफ्नो जन्मदिनको भोजनसमेत गरेका थिए।
नेसनल ट्रस्टले भवनको स्वामित्व लिए पनि रेस्टुरेन्टको नियमित सञ्चालन भने यथावत् रहनेछ। रेस्टुरेन्ट व्यवसायबाट प्राप्त हुने वार्षिक भाडा भवनको संरक्षणमा खर्च गरिने व्यवस्था गरिएको छ।
ट्रस्टले रूल्सलाई ऐतिहासिक भवन र त्यसको मूल प्रयोग अर्थात् रेस्टुरेन्ट सञ्चालन दुवै निरन्तर कायम रहेको ‘जीवित सम्पदा’को दुर्लभ उदाहरणका रूपमा व्याख्या गरेको छ।
ट्रस्टकी महानिर्देशक हिलारी म्याकग्राडीले यस स्थानलाई जीवित इतिहासको महत्त्वपूर्ण अंश बताएकी छन्। उनका अनुसार भवनका कुनाकाप्चाले राजा–महाराजाको भोजन, लेखक तथा राजनीतिज्ञका भेटघाट र युद्ध तथा सामाजिक उथलपुथलका बीच पनि कायम रहेको परम्पराको कथा सुनाउँछन्।
“आजसम्म यसले अनेक अवरोध पार गरेको छ। रेस्टुरेन्टको ढोका अझै खुला छ र ट्रेकल स्पन्ज नामक मिठाई पनि मेनुमै छ,” म्याकग्राडीले भनिन्।
रूल्समा पुरानो लन्डनको वातावरण झल्किने गरी भित्री सजावट गरिएको छ। यसको मेनुमा स्टेक तथा किड्नी पाई, गिनी फाउल, स्टिकी टफी पुडिङ र स्याउको क्रम्बलजस्ता परम्परागत बेलायती परिकार तथा मिठाई समावेश छन्।
रेस्टुरेन्टमा एकैपटक करिब ९० जनाले भोजन गर्न सक्छन्। नजिकैका थिएटर तथा सिनेमाघरमा कार्यक्रम हेर्नुअघि वा त्यसपछि यहाँ आउने ग्राहकको सङ्ख्या उल्लेख्य रहने गरेको छ।
सन् १९८९ देखि रूल्समा काम गर्दै आएका सञ्चालक रिकी म्याकमनेमी अब नेसनल ट्रस्टका व्यावसायिक भाडावालका रूपमा रेस्टुरेन्ट सञ्चालन गर्नेछन्।
उनले नयाँ व्यवस्थाले व्यवसायलाई सुरक्षा र मानसिक शान्ति दिएको बताएका छन्। “हाम्रो घर अब सक्षम हातमा रहनेछ र भविष्यमा पनि सुरक्षित हुनेछ,” उनले भने। ट्रस्टसँगको सहकार्यले रेस्टुरेन्टको परम्परा आगामी दुई शताब्दीसम्म पनि कायम राख्न सहयोग पुग्ने उनको अपेक्षा छ।
नेसनल ट्रस्टलाई भवन र ऐतिहासिक सामग्री हस्तान्तरण गरिएसँगै रूल्सको लामो इतिहास संरक्षण गर्ने जिम्मेवारी अब संस्थाको हातमा पुगेको छ। रेस्टुरेन्टको सञ्चालन निरन्तर राख्दै यसको मौलिक पहिचान जोगाउने योजनाले लन्डनको ऐतिहासिक खानपान संस्कृतिलाई भविष्यसम्म सुरक्षित राख्ने अपेक्षा गरिएको छ।