मालीमा सशस्त्र समूहको आक्रमणमा ५० भन्दा बढी सर्वसाधारणको मृत्यु

953 Shares

बामाको । पश्चिम अफ्रिकी मुलुक मालीको उत्तरपूर्वी मेना क्षेत्रमा सशस्त्र समूहले गरेको आक्रमणमा कम्तीमा ५० जना सर्वसाधारणको मृत्यु भएको छ। आइतबार भएका आक्रमणमा मुख्यतः दौसहाक समुदायका नागरिकलाई लक्षित गरिएको सुरक्षा अधिकारी तथा स्थानीय स्रोतहरूले बताएका छन्।

मोटरसाइकलमा आएका आक्रमणकारीले टिनाबो गाउँ र तगादायत क्षेत्रका शिविरमा गोली चलाउनुका साथै घरहरूमा आगजनी गरेका थिए। आक्रमणमा महिला तथा वृद्धवृद्धासमेत मारिएको स्थानीय अधिकारीहरूले बताएका छन्।

दौसहाक समुदायको कार्यकारी ब्युरोले घटनामा इस्लामिक स्टेट समूह संलग्न रहेको आरोप लगाएको छ। ब्युरोका अनुसार तगादायत क्षेत्रमा मात्रै ४८ जना सर्वसाधारणको मृत्यु भएको छ। समुदायको कार्यकारी ब्युरोले घटनालाई नरसंहारको संज्ञा दिँदै निन्दा गरेको छ।

एक सुरक्षा स्रोतका अनुसार हालै भएका सैन्य कारबाही तथा अजवादको उद्धारका लागि सशस्त्र आन्दोलन (एमएसए) ले गरेको आक्रमणको बदला लिन हिंसा मच्चाइएको हुन सक्ने बताइएको छ। दौसहाक समुदायबाटै उदाएको एमएसए मालीको सत्तारूढ सरकारसँग सम्बन्धित रहेको जनाइएको छ।

आक्रमणपछि घरबार छाड्न बाध्य भएका स्थानीय बासिन्दा मेनाकामा पुगेका छन्। विस्थापित नागरिकलाई तत्काल मानवीय सहायता उपलब्ध गराउन दौसहाक समुदायको कार्यकारी ब्युरोले अपिल गरेको छ।

यसैबीच, मालीको सेनाले शनिबार मेनाकाबाट करिब ६५ किलोमिटर दक्षिणपश्चिममा सैन्य कारबाही गरेको जनाएको छ। सेनाका अनुसार उक्त कारबाहीमा सशस्त्र समूहको नियन्त्रणमा रहेको आतङ्कवादी तथा सैन्य उपकरण भण्डारण गर्ने प्रमुख आधारलाई लक्षित गरिएको थियो।

माली सन् २०१२ देखि जिहादी लडाकु, तुआरेग पृथकतावादी तथा आपराधिक समूहको हिंसाबाट प्रभावित हुँदै आएको छ। सन् २०२० र २०२१ मा भएका सैनिक विद्रोहपछि सत्तामा आएको सैनिक सरकारले सुरक्षा व्यवस्थापनका लागि रुसको सहयोग लिँदै आएको छ।

रुसको वागनर समूहका अर्धसैनिक बल सन् २०२५ मा अफ्रिका कोरमा रूपान्तरण भएको थियो। मालीमा जारी हिंसाले सर्वसाधारणको सुरक्षा र मानवीय अवस्थामाथि थप चुनौती सिर्जना गरेको छ।

सम्बन्धित समाचार