महँगीको मारविरुद्ध युरोपमा जनआक्रोश, फ्रान्समा व्यापक प्रदर्शन र झडप

988 Shares

पेरिस — दैनिक उपभोग्य वस्तु तथा सेवाको बढ्दो मूल्यवृद्धि र युद्धको विरोधमा युरोपका विभिन्न देशमा हजारौँ नागरिक सडकमा उत्रिएका छन्। फ्रान्समा विद्यार्थीहरूले सुरु गरेको आन्दोलन व्यापक बन्दै जाँदा शनिबार प्रदर्शनले उग्र रूप लिएको छ। फ्रान्ससँगै बेल्जियम, इटाली र पोर्चुगलमा पनि विरोध प्रदर्शन भएका छन्।

फ्रान्सको गृह मन्त्रालयका अनुसार देशभर भएका प्रदर्शनमा पाँच लाख ५० हजारभन्दा बढी मानिस सहभागी भएका थिए। प्रदर्शनका क्रममा विभिन्न स्थानमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो। केही ठाउँमा आगजनी, तोडफोड र लुटपाटका घटनासमेत भएका छन्।

विद्यार्थीहरूले सुरु गरेको साताव्यापी आन्दोलनमा विभिन्न समूह सहभागी भएपछि प्रदर्शन थप व्यापक बनेको हो। आन्दोलनका क्रममा केही हिंसात्मक समूहले सरकारी भवन, विलासी सामानका पसल र सुपरमार्केटमा आक्रमण गरेका थिए। प्रहरीका सवारीसाधन तथा सुरक्षाकर्मीलाई समेत निशाना बनाइएको बताइएको छ।

इटालीको मिलानमा पनि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ। प्रदर्शनका क्रममा सहरको केन्द्रमा आगजनी हुनुका साथै विभिन्न पसलमा लुटपाट भएको जनाइएको छ।

प्रारम्भमा महँगी र युद्धको विरोधमा शान्तिपूर्ण रूपमा सुरु भएको प्रदर्शनमा केही व्यक्तिले मास्क लगाएर ढुंगा प्रहार तथा आगजनी गर्न थालेपछि प्रहरीले बल प्रयोग गरेको जनाएको छ।

दैनिक जीवनयापनको लागत बढ्दै जाँदा सर्वसाधारणमा असन्तुष्टि चुलिएको र त्यसले विभिन्न देशमा विरोध प्रदर्शनको रूप लिएको देखिएको छ। यद्यपि, शान्तिपूर्ण रूपमा सुरु भएको आन्दोलनका क्रममा भएका हिंसात्मक घटनाले सार्वजनिक सुरक्षा र सम्पत्तिको संरक्षणमा चुनौती थपेको छ।

सम्बन्धित समाचार