अष्ट्रेलियामा नेपाली युवा उद्यमी टार्जन बुढाथोकीलाई प्रतिष्ठित सम्मान

3.5k Shares

अष्ट्रेलिया । अष्ट्रेलियाको भिक्टोरिया राज्यमा बसोबास गर्दै आएका नेपाली युवा उद्यमी टार्जन बुढाथोकी ‘भिक्टोरियन मल्टिकल्चरल अवार्ड्स फर एक्सिलेन्स–२०२६’ अन्तर्गत ‘बिजनेस एन्ड इम्प्लोइमेन्ट अवार्ड’ बाट सम्मानित भएका छन्। विराटनगरका बुढाथोकीलाई व्यक्तिगत विधातर्फ प्रदान गरिएको उक्त सम्मानले अष्ट्रेलियामा प्रवासी समुदायको रोजगारी र सशक्तीकरणमा उनले पुर्‍याएको योगदानको कदर गरेको छ।

भिक्टोरिया राज्यको बहुसांस्कृतिक निकाय भिक्टोरियन मल्टिकल्चरल कमिसन (भीएमसी) ले बुढाथोकीलाई उक्त अवार्ड प्रदान गरेको हो। सन् २०२६ अक्टोबर १४ मा मेलबर्नमा आयोजित समारोहमा उनलाई सम्मानित गरिएको थियो।

सन् २०१८ मा अन्तर्राष्ट्रिय विद्यार्थीका रूपमा नेपालबाट अष्ट्रेलिया पुगेका बुढाथोकी अहिले भिक्टोरियाको क्षेत्रीय सहर ब्यालाराटस्थित स्वास्थ्य जनशक्ति कम्पनी ‘बेस्ट नर्सिङ एजेन्सी’ (बीएनए) का सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन्। सन् २०२४ मा स्थापना भएको उक्त कम्पनीले नर्स, सपोर्ट वर्कर तथा एलाइड हेल्थ क्षेत्रका जनशक्तिलाई रोजगारी उपलब्ध गराउँदै आएको छ।

कम्पनीमा कार्यरत जनशक्तिमध्ये ९० प्रतिशतभन्दा बढी प्रवासी पृष्ठभूमिका छन्। तीमध्ये धेरैले बीएनएमार्फत नै अष्ट्रेलियामा आफ्नो पहिलो रोजगारीको अवसर पाएका छन्। प्रवासी समुदायका व्यक्तिलाई रोजगारीको अवसर उपलब्ध गराउनुका साथै उनीहरूलाई श्रम बजारमा स्थापित हुन सहयोग पुर्‍याउनु बुढाथोकीको उद्यमशीलताको प्रमुख पक्ष बनेको छ।

बीएनए स्थापना गर्नुअघि पनि उनले अन्तर्राष्ट्रिय विद्यार्थीको रोजगारी क्षमता अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न व्यवसाय तथा गैरनाफामुखी संस्था स्थापना गरेका थिए। अष्ट्रेलियामा अध्ययन गर्न पुगेका विद्यार्थीले रोजगारीका अवसर खोज्ने क्रममा भोग्नुपर्ने चुनौतीलाई सम्बोधन गर्न उनले विभिन्न कार्यक्रम र सामुदायिक पहलमा काम गर्दै आएका छन्।

उनको योगदान व्यवसाय सञ्चालनमा मात्रै सीमित छैन। भिक्टोरियाभरका प्रवासी समुदायको हितका लागि उनी लामो समयदेखि विभिन्न सामुदायिक नेतृत्वदायी भूमिकामा सक्रिय छन्। गैरनाफामुखी संस्था ‘स्टेपिङ जोन’ को स्थापनादेखि सिटी अफ मेलबर्न, सिटी अफ विट्लसी, स्टडी मेलबर्न र एसडीए भिक्टोरियाजस्ता निकायसँगको सहकार्यमार्फत उनले समुदायमा आफ्नो भूमिका विस्तार गरेका छन्।

हाल ‘मेलबर्नपाल’ का उपाध्यक्ष रहेका बुढाथोकीले अन्तर्राष्ट्रिय विद्यार्थीको रोजगारी, कार्यस्थलमा श्रमिकका अधिकार तथा मानसिक स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धिका क्षेत्रमा काम गर्दै आएका छन्। विद्यार्थी र प्रवासी समुदायलाई रोजगारीका अवसरसँग जोड्ने तथा उनीहरूलाई कार्यस्थलमा सुरक्षित र सम्मानजनक वातावरण प्राप्त गर्न सहयोग गर्ने उनको प्रयासले समुदायमा सकारात्मक प्रभाव पारेको छ।

बुढाथोकीको योगदानको कदर यसअघि पनि विभिन्न तहमा भइसकेको छ। सन् २०२४ मा स्टडी मेलबर्नले उनलाई ‘इमर्जिङ लिडर–इन्टरनेसनल एलुम्नाई अवार्ड’ को राज्यस्तरीय फाइनलिस्ट घोषणा गरेको थियो। त्यसैगरी, सन् २०२३ मा भिक्टोरियाको विधान परिषद्मा मन्त्री एन्भर एर्दोगानले उनको कामको औपचारिक प्रशंसा गरेका थिए।

नयाँ देशमा अवसर खोज्दै पुगेका विद्यार्थीबाट उद्यमी तथा सामुदायिक नेतृत्वकर्तासम्मको यात्रा तय गरेका बुढाथोकीको पछिल्लो उपलब्धिलाई प्रवासी नेपाली समुदायका लागि प्रेरणादायी सफलताका रूपमा हेरिएको छ। उनको नेतृत्वमा सञ्चालित व्यवसायले रोजगारी सिर्जना गर्नुका साथै अष्ट्रेलियामा नयाँ अवसर खोजिरहेका प्रवासीलाई श्रम बजारमा प्रवेश गर्न सहयोग पुर्‍याइरहेको छ।

सम्मान ग्रहणपछि बुढाथोकीले यो उपलब्धि आफ्नो मिहिनेतका भरमा अघि बढ्न खोज्ने सबै प्रवासीको भएको बताए। उनले बीएनएमार्फत नयाँ व्यक्तिका लागि रोजगारीको पहिलो अवसरको ढोका खोल्ने प्रयास भइरहेको उल्लेख गरे।

“यो सम्मान आफ्नो मिहिनेतका भरमा अघि बढ्न खोज्ने हरेक प्रवासीको हो। हामी बीएनएमार्फत त्यही पहिलो अवसरको ढोका खोल्ने काम गरिरहेका छौं,” उनले भने।

बुढाथोकीको सम्मानले विदेशमा नेपाली युवाले उद्यमशीलता, रोजगारी सिर्जना र सामुदायिक सेवामार्फत हासिल गर्न सक्ने उपलब्धिलाई उजागर गरेको छ।

सम्बन्धित समाचार