काठमाडौँ । दसैँको चहलपहल बढ्दै जाँदा घरपरिवार र आफन्तसँगै चाड मनाउने तयारी तीव्र बनेको छ। तर, राजधानी काठमाडौँ उपत्यकाका उपभोक्तालाई भने भान्सामा खाना पकाउने ग्यासको अभावले सताएको छ। दसैँको मुखमा समेत भरिएको सिलिन्डर पाउन पसल र डिपो धाउनुपर्ने बाध्यता कायम रहँदा उपभोक्ता थप समस्यामा परेका छन्।
चाडपर्वका बेला पाहुनाको आवतजावत बढ्ने र घरमा खाना पकाउने कामसमेत बढी हुने समयमा ग्यासको अभाव हुँदा सर्वसाधारणको दैनिकी प्रभावित बनेको छ।
उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउने उद्देश्यले काठमाडौँ उपत्यकामा घटस्थापनादेखि सुरु गरिएको फरक कम्पनीका सिलिन्डर साटफेर गरेर ग्यास लिन पाउने व्यवस्था हटाउने तयारी गरिएको छ। नेपाल आयल निगम र नेपाल एलपी ग्यास उद्योग संघको सहकार्यमा उपत्यकाका ११ वटा केन्द्रबाट विभिन्न कम्पनीका सिलिन्डर साटेर ग्यास वितरण हुँदै आएको थियो।
यसअघि उक्त व्यवस्था असोज ३० गतेसम्म सञ्चालन गर्ने भनिए पनि व्यवस्थापनमा समस्या देखिएपछि आजसम्म मात्रै लागू गर्ने निर्णय गरिएको संघले जनाएको छ।
नेपाल आयल निगमले भने उपभोक्तालाई ग्यास सहज रूपमा उपलब्ध गराउन प्रयास भइरहेको दाबी गरेको छ। निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार ग्यास आयातमा समस्या नभए पनि आपूर्ति तथा वितरण व्यवस्थापनमा कठिनाइ देखिएको छ। भारतबाट ग्यास आयातमा कुनै अवरोध नरहेको उनको भनाइ छ।
तर, सरकार र निजी क्षेत्रले ग्यास आपूर्ति सहज हुने विषयमा उपभोक्तालाई विश्वस्त पार्न सकेका छैनन्। नेपाल आयल निगम र ग्यास उद्योग संघले उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास भण्डारण गर्न खोज्दा बजारमा माग बढेको बताएका छन्।
गत फागुनदेखि नै ग्यासको आपूर्ति सहज हुन नसकेको अवस्थामा दसैँ नजिकिँदा समस्या झन् पेचिलो बनेको छ। दसैँ मनाउन उपत्यकाबाट ठूलो सङ्ख्यामा मानिस गाउँ फर्किने भएकाले अब काठमाडौँ उपत्यकामा ग्यासको खपत केही घट्ने र उपत्यकाबाहिरका जिल्लामा भने माग बढ्न सक्ने निगमको अनुमान छ।
चाडपर्वका बेला ग्यासको माग र वितरण व्यवस्थापन प्रभावकारी बनाउन नसक्दा उपभोक्ताले सास्ती खेप्नुपरेको छ। आयातमा अवरोध नभएको दाबी गरिए पनि बजारमा सहज रूपमा ग्यास उपलब्ध हुन नसक्नुले आपूर्ति शृङ्खला र वितरण प्रणालीमाथि प्रश्न उठाएको छ।