काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ। ओमानको अल अमेरात क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ।
लिग–२ को शीर्ष चारमा पर्ने सम्भावना समाप्त भइसकेको नेपालका लागि अब एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउनु मुख्य चुनौती बनेको छ। त्यसैले ओमानविरुद्धको आजको खेल नेपालका लागि महत्वपूर्ण मानिएको छ।
आइतबार क्यानडालाई पराजित गर्दै नेपालले ओडीआई मान्यता जोगाउने सम्भावना जीवित राखेको थियो। अब बाँकी खेलमा जित निकाल्दै शीर्ष ६ भित्र पर्ने लक्ष्य पूरा गर्न नेपाललाई दबाब छ।
नेपालले ओमान र क्यानडासँग समान दुई–दुई खेल खेल्न बाँकी छ। यी चार खेलमध्ये कम्तीमा तीन खेल जित्न सके नेपाललाई शीर्ष ६ मा रहेर ओडीआई मान्यता जोगाउने सम्भावना बलियो बनाउन मद्दत पुग्नेछ। तर, त्यसका लागि अन्य टोलीको नतिजाले पनि प्रभाव पार्न सक्नेछ।
आठ टोली सहभागी लिग–२ मा नेपाल ३३ खेलबाट २६ अंक जोड्दै छैटौँ स्थानमा छ। नेपालभन्दा एक स्थानमाथि रहेको नामिबियाले ३५ खेलबाट ३१ अंक जोडेको छ। यस्तै, ३४ खेल खेलेको क्यानडाको २५ अंक छ भने २९ खेल खेलेको ओमान ३३ अंकसहित नेपालको तुलनामा बलियो अवस्थामा छ।
यूएई भने ३२ खेलबाट १९ अंक जोड्दै अंकतालिकाको अन्तिम स्थानमा छ। अमेरिका, स्कटल्यान्ड र नेदरल्यान्ड्सले शीर्ष स्थानमा रहँदै सन् २०२७ को एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा स्थान सुरक्षित गरिसकेका छन्।
नेपालका लागि अब प्रत्येक खेलको नतिजा निर्णायक बन्दै गएको छ। ओमानविरुद्ध जित निकाल्न सके शीर्ष ६ मा रहने सम्भावनालाई थप बल पुग्नेछ भने हारले ओडीआई मान्यता जोगाउने अभियान कठिन बनाउन सक्छ।
ओमानसँगको आजको खेलपछि नेपालले आगामी शनिबार क्यानडासँग प्रतिस्पर्धा गर्नेछ। त्यसपछि कात्तिक २ गते पुनः ओमानसँग खेल्ने तालिका छ।
बाँकी खेलमा उत्कृष्ट प्रदर्शन गर्दै आवश्यक जित निकाल्नु नेपालका लागि अनिवार्यजस्तै बनेको छ। शीर्ष चारको लक्ष्य गुमाइसकेको नेपाल अब ओडीआई मान्यता जोगाउने अन्तिम दौडमा केन्द्रित छ।