दसैँको नयाँ नोट सटहीमा समस्या, राष्ट्र बैंकको व्यवस्थामाथि प्रश्न

1.2k Shares

काठमाडौं । बडादसैँका लागि नयाँ नोट सटही सहज बनाइएको नेपाल राष्ट्र बैंकको दाबी व्यवहारमा प्रभावकारी देखिएको छैन । केन्द्रीय बैंकले देशभरका बैंक तथा वित्तीय संस्थामा पर्याप्त नयाँ नोट पठाइसकेको र सर्वसाधारणले आफूलाई पायक पर्ने बैंक तथा एटिएमबाट नोट प्राप्त गर्न सक्ने जनाएको भए पनि काठमाडौँ उपत्यकामा नयाँ नोट पाउन सेवाग्राहीले सास्ती बेहोर्नुपरेको छ ।

उपत्यकाका विभिन्न वाणिज्य बैंकका शाखामा गरिएको स्थलगत अवलोकनका क्रममा कतिपय बैंकमा नयाँ नोटको मौज्दात सकिएको र केहीमा कहिले उपलब्ध हुन्छ भन्ने निश्चित जानकारीसमेत नपाइएको देखिएको छ । राष्ट्र बैंकले घोषणा गरेको एटिएमबाट सय रुपैयाँ दरका नोट निकाल्न सकिने सुविधासमेत प्रभावकारी रूपमा सञ्चालनमा आउन नसकेको पाइएको छ ।

तीन बैंकमा नयाँ नोटको अभाव

काठमाडौँका तीन वाणिज्य बैंकका शाखामा नयाँ नोट सटहीबारे बुझ्दा फरक–फरक अवस्था देखिएको छ ।

सिद्धार्थ बैंकमा पाँच, दस, बीस, पचास र सय रुपैयाँ दरका नयाँ नोट सकिएको जानकारी दिइएको थियो । आवश्यक परे पाँच सय र एक हजार रुपैयाँ दरका नयाँ नोट मात्र उपलब्ध गराउन सकिने कर्मचारीको भनाइ थियो । दसैँमा दक्षिणना दिन साना दरका नोट बढी आवश्यक पर्ने भएकाले यस्तो अवस्थाले सेवाग्राहीलाई असुविधा भएको छ ।

एनएमबि बैंकमा भने नयाँ नोटको मौज्दात नै नभएको जवाफ दिइएको थियो । नयाँ नोट साट्न पुगेका सेवाग्राही नोट उपलब्ध गराउन नसकिने भन्दै फर्किनुपरेको थियो ।

त्यस्तै, ग्लोबल आइएमई बैंकमा नयाँ नोट आउने सम्भावना रहेको बताइए पनि कहिले उपलब्ध हुन्छ भन्ने निश्चित जानकारी दिइएन । कर्मचारीले नोट आउन सक्ने तर समय तय नभएको जवाफ दिएका थिए ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा नयाँ नोट पठाइसकेको बताइरहँदा सर्वसाधारणले भने सहज रूपमा नोट पाउन नसकेको गुनासो गरेका छन् । ठूला निक्षेपकर्ता तथा पहुँच भएका व्यक्तिले भित्रभित्रै नोट पाउने तर सर्वसाधारणलाई अभाव देखाएर फर्काउने गरिएको गुनासोसमेत सुनिएको छ । यद्यपि, यससम्बन्धी दाबीको स्वतन्त्र पुष्टि भएको छैन ।

एटिएमबाट सय रुपैयाँ निकाल्ने सुविधा पनि प्रभावहीन

बैंकका काउन्टरमा हुने भीड कम गर्ने उद्देश्यले यस वर्ष एटिएमबाट सय रुपैयाँ दरका नयाँ नोट निकाल्न सकिने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको थियो । तर, दसैँ नजिकिँदासम्म काठमाडौँ उपत्यकाका अधिकांश एटिएमबाट उक्त सुविधा लिन नसकिएको स्थलगत अवलोकनले देखाएको छ ।

धेरैजसो एटिएममा सय रुपैयाँ दरका नोट राख्न आवश्यक व्यवस्था नभएको बताइएको छ । केही बैंकले सीमित एटिएममा मात्रै यस्तो सुविधा सञ्चालन गरेका भए पनि सडक तथा बजार क्षेत्रमा रहेका अधिकांश एटिएमबाट पाँच सय र एक हजार रुपैयाँ दरका नोट मात्रै निकाल्न सकिएको सेवाग्राहीको अनुभव छ ।

एटिएमबाटै सय रुपैयाँका नोट निकालेर दसैँको आवश्यकता पूरा गर्ने अपेक्षा गरेका उपभोक्ताले सुविधा प्रभावकारी नहुँदा निराश हुनुपरेको छ । यसले राष्ट्र बैंकले घोषणा गरेको व्यवस्था र सर्वसाधारणले व्यवहारमा प्राप्त गरिरहेको सेवाबीच अन्तर देखाएको छ ।

थापाथलीमा भने सटही सेवा नियमित

वाणिज्य बैंकका शाखामा नयाँ नोटको अभाव भएको गुनासो आइरहँदा नेपाल राष्ट्र बैंकको थापाथलीस्थित बैंकिङ विभागमा भने सटही सेवा नियमित रूपमा सञ्चालन भइरहेको जनाइएको छ ।

त्यहाँका एक जिम्मेवार अधिकारीका अनुसार प्रतिव्यक्ति एक सेटमा १८ हजार पाँच सय रुपैयाँ र दुई सेटमा अधिकतम ३७ हजार रुपैयाँसम्मका नयाँ नोट साट्न सकिने व्यवस्था छ ।

एक सेट सटही गर्दा पाँच रुपैयाँदेखि सय रुपैयाँ दरसम्मका साना नोट उपलब्ध गराइने ती अधिकारीले बताएका छन् । त्यसभन्दा कम रकम साट्दा पाँच सय र एक हजार रुपैयाँ दरका नोटसमेत मिलाएर लिन सकिने उनको भनाइ छ ।

थापाथलीमा नगद बोकेर जान नसक्ने सेवाग्राहीका लागि मोबाइल बैंकिङबाट क्यूआर कोड प्रयोग गरी नयाँ नोट साट्ने सुविधा पनि उपलब्ध रहेको जनाइएको छ ।

सहज सटहीका लागि प्रभावकारी अनुगमन आवश्यक

नयाँ नोट वितरणलाई सहज र सर्वसुलभ बनाउने उद्देश्यले राष्ट्र बैंकले वाणिज्य बैंक तथा एटिएममार्फत सटहीको व्यवस्था अघि सारेको भए पनि सेवाग्राहीको अनुभवले कार्यान्वयनमा कमजोरी रहेको सङ्केत गरेको छ ।

वाणिज्य बैंकका शाखामा नोट उपलब्ध नहुँदा सर्वसाधारण फेरि राष्ट्र बैंकको थापाथलीस्थित काउन्टरमा निर्भर हुनुपर्ने अवस्था देखिएको छ । एटिएमबाट खुद्रा नोट निकाल्ने व्यवस्था पनि अपेक्षाअनुसार सञ्चालनमा नआएपछि वैकल्पिक माध्यम प्रभावकारी हुन सकेका छैनन् ।

नयाँ नोट वितरणसम्बन्धी घोषणा कार्यान्वयन भए–नभएको अनुगमन गर्नु, बैंकका शाखामा आवश्यक नोट उपलब्ध गराउनु र एटिएममार्फत साना दरका नोट निकाल्न सकिने व्यवस्था प्रभावकारी बनाउनु राष्ट्र बैंकका लागि आवश्यक देखिएको छ ।

दसैँका बेला दक्षिणना तथा अन्य प्रयोजनका लागि नयाँ नोट खोज्ने सर्वसाधारणलाई सहज सेवा उपलब्ध गराउन सम्बन्धित निकायले ध्यान दिनुपर्ने देखिन्छ । अन्यथा, सहज सटहीको आश्वासनका बाबजुद नागरिकले नयाँ नोट प्राप्त गर्न सास्ती बेहोर्नुपर्ने अवस्था कायमै रहनेछ ।

सम्बन्धित समाचार