काठमाडौं । श्रमिकले कानुनअनुसार पाउनुपर्ने चाडपर्व खर्च उपलब्ध गराउन श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले रोजगारदाता तथा प्रतिष्ठानहरूलाई निर्देशन दिएको छ। चाडपर्व खर्च नपाएको भन्दै श्रमिकबाट गुनासो आउन थालेपछि विभागले यस्तो निर्देशन दिएको हो।
तर, कतिपय रोजगारदाता तथा प्रतिष्ठानले कानुनमा व्यवस्था भएअनुसार चाडपर्व खर्च नदिएको गुनासो प्राप्त भएपछि विभागले रोजगारदातालाई उक्त सुविधा अनिवार्य रूपमा उपलब्ध गराउन आग्रह गरेको हो।
विभागले चाडपर्व खर्च नपाएका श्रमिकलाई आफ्नो कार्यक्षेत्रअन्तर्गत पर्ने श्रम तथा रोजगार कार्यालय वा श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा उजुरी तथा निवेदन दिन अनुरोध गरेको छ। श्रमिकले इमेलमार्फत पनि आफ्ना गुनासा तथा सुझाव पठाउन सक्ने व्यवस्था गरिएको छ।
विभागका प्रवक्ता मणिनाथ गोपले कानुनअनुसारको सुविधा नदिने रोजगारदातामाथि श्रम ऐनबमोजिम कारबाही गरिने स्पष्ट पारेका छन्।
विभागले चाडपर्वका बेला श्रमिकको आर्थिक आवश्यकतालाई ध्यानमा राख्दै कानुनले सुनिश्चित गरेको सुविधा उपलब्ध गराउन सबै रोजगारदाता तथा प्रतिष्ठानलाई आग्रह गरेको छ।