राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानमा नयाँ नेतृत्व, अध्यक्ष बने पशुपति शर्मा

1.3k Shares

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको अध्यक्षमा लोकदोहोरी गायक पशुपति शर्मा निर्विरोध निर्वाचित भएका छन्। प्रतिष्ठानको नवौँ केन्द्रीय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका क्रममा शर्मा अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन्।

महोत्तरीको बर्दिबासमा जारी महाधिवेशनले नेपाली लोक तथा दोहोरीगीत क्षेत्रको नयाँ नेतृत्व चयन गरेको हो। प्रतिष्ठानको महाधिवेशनमा देशभरका जिल्ला शाखा तथा विदेशस्थित शाखाबाट प्रतिनिधिहरू सहभागी भएका छन्।

लोकदोहोरी क्षेत्रमा लामो समयदेखि सक्रिय शर्मा गायकका रूपमा परिचित छन्। उनले नेपाली लोकसंस्कृति, मौलिक गीतसंगीत तथा दोहोरी क्षेत्रको प्रवर्द्धनमा योगदान दिँदै आएका छन्। प्रतिष्ठानको वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा समेत रहेर काम गरिसकेका शर्मा अब अध्यक्षको जिम्मेवारीमा पुगेका हुन्।

 
प्रतिष्ठानको नयाँ नेतृत्वमाथि नेपाली मौलिक लोकगीत तथा दोहोरीको संरक्षण, कलाकारको हकहितको रक्षा, नवप्रतिभालाई अवसर र संस्थागत गतिविधिलाई प्रभावकारी बनाउने जिम्मेवारी रहनेछ।

लोक तथा दोहोरीगीत नेपाली कला र संस्कृतिको महत्त्वपूर्ण हिस्सा भएकाले प्रतिष्ठानको नेतृत्व परिवर्तनलाई सांगीतिक क्षेत्रले चासोका साथ हेरेको छ।

सम्बन्धित समाचार